
सल्यान प्रहरीले ३३ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ । विशेष सूचनाका आधारमा जिल्लाका बिभिन्न स्थान बाट ठुलो परिमानमा अवैध ३३ नाल भरुवा बन्दुक बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बरामद गरिएका भरुवा बन्दुकहरु बनगाड कुपिण्डे नगरपालिका र त्रिवेणी गाउँपालिकाका बिभिन्न स्थान बाट बढि मात्रामा फेला परेका छन । फेला परेका बन्दुक लामो समय देखि अवैध रुपमा लुकाइ छिपाइ राखिएको अवस्थामा भेटिएको सूचना अधिकारी तथा प्रहरी निरिक्षक देवराज भट्टराईले जानकारी दिनुभयो । यस्तै एक जना व्यक्ति भरुवा बन्दुक सहित पक्राउ गरि मुद्धा चलाइएको बताउनु भयो ।
अवैध रुपमा बन्दुक लुकाइएको भन्ने सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा व्यक्तिका घर, बारी तथा जंगलमा लुकाइराखेको अवस्थामा फेला परेको बताउनु भयो । अवैध रुपमा हतियार राख्नु कानुनी अपराध भएकाले बन्दुक कसले, कुन उदेश्यले र कहिले देखि राखेको थियो भन्ने बिषयमा थप अनुसन्धान भैरहेको छ । बरामद भएका बन्दुक आज पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । स्थानीय केही व्यक्तिले अवैध रूपमा लुकाई छिपाई हतियार राखेको र ती हतियार वन्यजन्तुको चोरी शिकारीमा प्रयोग भएको हुन सक्ने प्रहरीको आशंका रहेको छ । कतिले तिनै बन्दुकको जनतालाई तर्साउने गरेको समेत सुन्नमा आएको थियो ।
आगामी निवाचनलाई लक्षित गर्दै यस्ता अवैध रुपमा राखिएका बन्दुक तथा हातहतियारको खोजी अभियानलाई अझ तिव्र पारिएको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो । निर्वाचनलाई शान्तिपुर्ण, भयरहितर र निपष्क्ष बनाउन प्रहरीले यो अभियानलाई व्यापक बनाउने जनाएको छ ।
