
सल्यानमा मानवअधिकार उलंघनका घटना बढदै गएका छन । अनौपचारिक सेवा केन्द्र इन्सेक सल्यानले दिएको तथ्याङक अनुसार सल्यानमा एक बर्षको अवधिमा ५९ वटा मानव अधिकार उलंघन तथा ज्यादतीका घटना भएका हुन ।
बिहिवार खलंगामा आयोजना गरिएको नेपाल मानवअधिकार बर्ष पुुस्तक २०२६ का लागि संकलित वार्षिक पुर्व समिक्षा कार्यक्रममा सार्वजनिक गरेको तथ्याङकमा सबै भन्दा बढि बलात्कार तथा बलातकार प्रयासका घटना भएका छन । जसमा बालिका बलात्कार तथा बलात्कार प्रयासका घटना १७, महिला बलात्कार तथा प्रयासका घटना ६ वटा भएका छन । यो तथ्याङकलाई केलाउदा सबै भन्दा बढि बालिका पिडित देखिएका छन । यस्तै हत्याका घटना ३, ज्यान मार्ने उद्योगका ३, कुटपिटका घटना २१, अभद्र व्यवहार, गालि बेइज्जेत तथा हातपातका ८ र जातिय विभेदका २ वटा घटना भएका छन । अधिकांश घटना आफ्नै घरपरिवार, नातागोता, छरछिमेकबाटै भएको पाइएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख वेलाराम रावलले मानव अधिकार उल्लंघनका घटनाहरु मध्य बालिका बलात्कारका घटनाहरु बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । पछिल्लो समय सामाजिक संजालको अनावश्यक प्रयोग, मदिरा सेवन, बिभिन्न कुलतका कारण यस्ता घटना बढदै गएको बताउनु भयो । यसमा सरोकारवाला तथा जनप्रतिनिधि र अभिभावकहरु गम्भिर बन्नुुपर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले पछिल्लो समय सामाजिक सञ्जालका कारणले मानवअधिकार उलंघनका घटना बढेको बताउनु भयो । जिल्लामा हुने यस्ता घटनाको न्युनिकरणका लागि मानवअधिकारका क्षेत्रमा काम गर्ने निकाय लगायत सबै पक्ष गम्भीर भइ अघि बढनुपर्ने बताउनु भयो ।
अनौपचारिक सेवा केन्द्र इन्सेक जिल्ला प्रतिनिधि रामचन्द्र रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डा. हेम केसी, सरकारी वकिल कार्यलयका प्रमुख गोविन्द आचार्य, सामुदायिक रेडियो प्रशारक संघ अकोर्याप कर्णाली प्रदेशका अध्यक्ष प्रतीक ईच्छुक शर्मा, पत्रकार, नागरिक समाजका व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ सल्यानका सचिव बुद्धि पुनले गर्नुभएको थियो ।
