
बरला कृषि बहुउद्देश्य सहकारी संस्था लिमिटेड, शारदा नगरपालिका–६, वरला, सल्यानको १८औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ।
साधारण सभामा सहकारी संस्थाकी कार्यसमिति कोषाध्यक्ष अस्मिता यरी राणाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कुल पुँजी ४ करोड ९१ लाख ५५ हजार ९ सय २९ रुपैयाँ ७२ पैसा र कुल ऋण लगानी २ करोड ८५ लाख ७२ हजार १ सय ८५ रुपैयाँ रहेको जानकारी गराउनुभयो।
संस्थाका कार्यसमिति अध्यक्ष रिमलाल भण्डारीको सभाध्यक्षता तथा शारदा साना किसान कृषि सहकारी संस्था लिमिटेड, शारदा नगरपालिका–६, वरला, सल्यानका अध्यक्ष मानबहादुर भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। सभामा वक्ताहरूले सहकारी भनेको आफ्नै घरआँगनको बैंक भएकाले ढुक्कसँग बचत गर्न शेयर सदस्यहरूलाई आग्रह गर्नुभयो।
वक्ताहरूले सहकारी व्यक्तिगत रूपमा होइन सामूहिक रूपमा सञ्चालन हुने संस्था भएकाले लगानी गरिएको रकम हिनामिना नहुने, आवश्यक पर्दा सजिलै रकम झिक्न सकिने र बैंकजस्तो झन्झट नहुने बताउनुभयो। साथै समुदायको आवश्यकतालाई ध्यानमा राखी पर्याप्त ऋण लगानी गर्नुपर्ने र ऋणीहरूले समयमै ऋण चुक्ता गर्नुपर्नेमा पनि जोड दिनुभयो।

कृषि सहकारी भएकाले किसानलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमहरू ल्याउनुपर्ने, कृषकको हितमा आधारित कामलाई प्राथमिकता दिनुपर्ने धारणा पनि सभामा व्यक्त गरिएको थियो।
कार्यक्रममा कृषि जोन एकाइ सल्यानका किशोर थारु, कजेरी बहुउद्देश्य सहकारी संस्था लिमिटेडका सचिव धनिराम खत्री, सौभाग्य लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्व अध्यक्षहरू टोपबहादुर केसी, लिलाधर नेपालीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
अधिवेशनले डम्बर सिंह तिरुवा अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ। जसअनुसार उपाध्यक्षमा छविलाल खत्री, सचिवमा गोपाल भण्डारी, कोषाध्यक्षमा अस्मिता यरी राणा चयन हुनुभएको छ। सदस्यहरूमा छवि बस्नेत, निर्मला बुढाथोकी, सुशिला हमाल, प्रमोद भण्डारी, गंगाराम यरी, रञ्जना भण्डारी र प्रेम खत्री रहनुभएको छ।
यस्तै, लेखा समिति संयोजकमा जंगबहादुर भण्डारी तथा सदस्यहरूमा कविता राणा र जितबहादुर विष्ट चयन भएका छन्। ऋण समिति संयोजकमा छविलाल खत्री, सदस्यहरूमा तोला केसी र प्रदीप ओली, शिक्षा समिति संयोजकमा टोपबहादुर खत्री, सदस्यहरूमा शोभा भण्डारी र गोपाल शर्मा चयन भएका छन्। कृषि समिति संयोजकमा धनिराम कँवर तथा सदस्यहरूमा मानबहादुर वनगिरी र हुर्मत खत्री रहनुभएको छ। सल्लाहकारमा रिमलाल भण्डारी, मानबहादुर भण्डारी र गोविन्द खत्री रहनुभएको छ।
कार्यक्रममा ऋण समिति संयोजक टोपेन्द्रप्रसाद उपाध्यायले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव डम्बर सिंह तिरुवाले गर्नुभएको थियो। सहकारी संस्थामा हाल करिब ७ सय ५० जना शेयर सदस्य आबद्ध रहेका छन्।
