सल्यानमा व्यवसायिक प्याज खेती प्रवर्धनका लागि तीन दिने तालिम सञ्चालन

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ पौष १३, आईतबार (३ हप्ता अघि)
  • ९४ पटक पढिएको

सल्यानमा व्यवसायिक प्याज खेती प्रवर्धनका लागि तीन दिने तालिम सञ्चालन

सल्यानका किसानहरूलाई व्यवसायिक प्याज खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले तीन दिने प्याज खेतीसम्बन्धी तालिम सञ्चालन गरिएको छ। राष्ट्रिय कृषि आधुनिककरण कार्यक्रम व्यवस्थापन एकाइ, सल्यानको आयोजनामा सञ्चालन गरिएको तालिममा जिल्लाका विभिन्न स्थानीय तहका किसानहरूको सक्रिय सहभागिता रहेको छ।
तालिममा बागचौर नगरपालिका, कालिमाटी गाउँपालिका, छत्रेश्वर गाउँपालिका र कपुरकोट गाउँपालिकाबाट २५ जना किसान सहभागी भएका छन्। तरकारी जोन लागू भएका क्षेत्रका किसानहरूलाई प्राथमिकताका आधारमा तालिममा सहभागी गराइएको राष्ट्रिय कृषि आधुनिककरण कार्यक्रम व्यवस्थापन एकाइ सल्यानका प्रमुख अनिल बानियाँले जानकारी दिनुभयो।
कार्यालय प्रमुख बानियाँका अनुसार सल्यानमा प्याज खेतीको राम्रो सम्भावना हुँदाहुँदै पनि हाल जिल्लाको माग पूर्ति गर्न बाहिरी बजारबाट आयात गर्नुपर्ने अवस्था छ। यही अवस्थालाई अन्त्य गर्दै जिल्लामै प्याज खेती विस्तार र प्रवर्धन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो।


तीन दिन सम्म चल्ने तालिममा किसानहरूलाई प्याज खेती गर्ने आधुनिक तरिका, नर्सरी व्यवस्थापन, उत्पादन वृद्धि गर्ने उपाय, भण्डारण प्रविधि, बजार व्यवस्थापन, देखिने समस्या तथा रोग–किरा नियन्त्रणका उपायहरूबारे व्यवहारिक ज्ञान दिइँने छ । साथै, कम लागतमा बढी उत्पादन लिन सकिने प्रविधिबारे पनि विज्ञहरूले प्रशिक्षण दिइरहेका छन्।


सल्यानको हावापानी र माटो प्याज खेतीका लागि अनुकूल रहेको उल्लेख गर्दै बानियाँले किसानहरूले व्यवसायिक रूपमा प्याज खेती गर्न थालेमा आयआर्जनको राम्रो स्रोत बन्न सक्ने बताउनुभयो। जिल्लामै उत्पादन बढाउन सकिए बाहिरी आयात घट्नुका साथै स्थानीय किसानको आर्थिक अवस्था सुधार हुने उहाँको भनाइ छ।
तालिममा सहभागी किसानहरूले पनि यस किसिमको सीपमूलक तालिमले आफूहरूलाई व्यवसायिक खेतीतर्फ अघि बढ्न हौसला मिलेको प्रतिक्रिया दिएका छन्। तालिमपछि सिकेका सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक रूपमा प्याज खेती सुरु गर्ने उनीहरूको अपेक्षा रहेको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली