
सल्यान उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालन हुन लागेको बृहत् महोत्सवका क्रममा सम्भावित आगलागी, झैँ–झगडा तथा हिंसाजन्य घटनाप्रति युवा मानवअधिकार रक्षक सञ्जाल सल्यानले गम्भीर ध्यानाकर्षण गराएको छ। सञ्जालले विगतका घटनाबाट पाठ सिक्दै यस वर्ष विशेष सतर्कता अपनाउन आयोजकसहित सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। अघिल्लो वर्ष राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला शाखा, सल्यानद्वारा आयोजित दोस्रो बृहत् महोत्सवका क्रममा २०८१ माघ २६ गते राति भएको आगलागीमा ५२ जना व्यापारीका ७३ वटा स्टल पूर्ण रूपमा जलेर नष्ट भएका थिए।
उक्त घटनाबाट करिब ४ करोड ५७ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो। आगलागीबाट पीडित व्यापारीहरूले राहत तथा क्षतिपूर्ति पाए–नपाएको विषयमा हालसम्म स्पष्ट जानकारी सार्वजनिक नभएकाले पीडित मात्र नभई नयाँ व्यापारीहरूमा समेत अन्योल र चिन्ता बढेको सञ्जालको भनाइ छ। यस वर्ष पुनः बृहत् महोत्सव सञ्चालन हुन लागेकाले यस्ता दुःखद घटनाको पुनरावृत्ति नहोस् भन्ने उद्देश्यले आगो नियन्त्रण उपकरणको पर्याप्त व्यवस्था, सुरक्षित विद्युत् जडान, आपतकालीन उद्धार योजना तथा सुरक्षाकर्मीको सक्रिय परिचालन अत्यावश्यक रहेको सञ्जालले जनाएको छ। युवा मानवअधिकार रक्षक सञ्जाल सल्यानले महोत्सव अवधिभर अनुगमन गर्दै आगलागी, झैँ–झगडा तथा हिंसाजन्य घटना न्यूनीकरण, शान्ति र सुरक्षा प्रवद्र्धनका लागि आवश्यक समन्वय र सहयोग गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ।
यसैगरी, महोत्सव सञ्चालनका क्रममा बजार क्षेत्रमा जथाभावी फोहर फाल्ने, प्लास्टिकजन्य फोहर व्यवस्थापन नगर्ने तथा सार्वजनिक स्थल अस्वच्छ बनाउने प्रवृत्ति बढ्न सक्ने भन्दै सरसफाइ र फोहर व्यवस्थापनमा पनि विशेष ध्यान दिन आग्रह गरिएको छ। फोहर संकलन तथा व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना बनाई प्रभावकारी कार्यान्वयन गर्न र नियम उल्लङ्घन गर्ने व्यक्ति वा व्यवसायमाथि कडाइका साथ अनुगमन तथा आवश्यक कारबाही गर्न सञ्जालले माग गरेको छ।
बृहत् महोत्सवलाई शान्त, सुरक्षित र मर्यादित बनाउन पर्याप्त सुरक्षाकर्मी परिचालन, आगो नियन्त्रण उपकरणको व्यवस्था, सुरक्षित विद्युत् जडान तथा आपतकालीन उद्धार योजनासहित प्रभावकारी सुरक्षा व्यवस्था तत्काल लागू गर्नुपर्ने, फोहर व्यवस्थापनको स्पष्ट योजना कार्यान्वयन गर्नुपर्ने र आयोजक समिति, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवालाबीच प्रभावकारी समन्वय कायम गर्नुपर्ने मागसहित सञ्जालका अध्यक्ष अस्मिता बस्नेत र सचिव प्रदीप घर्तीमगरले सल्यान उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
