
सल्यानको कालिमाटी गाउँपालिकामा –१ मा रहेको त्रि.ज. माध्यमिक विद्यालय, लक्ष्मिपुर नेपाली सेना सिद्दिबक्स गणले सामुदायिक विपद् प्रतिकार्य तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कालिमाटी गाउँपालिकासँगको समन्वयमा बिद्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरणसँगै व्यावहारिक (डेमो) प्रदर्शन गरिएको हो।

विपद् जोखिम न्यूनीकरण र स्थानीय स्तरमै तत्काल उद्धार क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा जनप्रतिनिधि, वडाका कर्मचारी, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीय समुदायका बासिन्दाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रशिक्षक तथा नेपाली सेनाका प्रतिनिधिहरूले सहभागीहरूलाई विपद् के हो, विपद् कसरी उत्पन्न हुन्छ, यसले कस–कसलाई कति प्रभाव पार्छ भन्ने विषयमा स्पष्ट पारेका थिए । साथै विपद् रोकथाम तथा न्यूनीकरणका उपायहरू बारे वैज्ञानिक र व्यवहारिक दुवै दृष्टिकोणबाट विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।

विशेषगरी भूकम्प, बाढी–पहिरो, आगलागी, डुबान र चट्याङ जस्ता स्थानीय समुदायले बारम्बार सामना गर्ने जोखिमहरूमा केन्द्रित रही पूर्वतयारी, सुरक्षित व्यवहार र समुदायको भूमिकाबारे व्यावहारिक ज्ञान दिइएको थियो । विपद् आइपरेमा प्राथमिक उद्धार कसरी सुरु गर्ने, समुदायको भूमिका कस्तो हुने, तत्काल सरसफाइ र स्वास्थ्य सुरक्षा कसरी कायम राख्ने भन्ने विषयहरू पनि सिकाइएको थियो।
कार्यक्रममा आगलागी नियन्त्रणमा प्रयोग हुने सामग्रीहरू—फायर एक्स्टिङ्गुइशर, फायर बल, धुवाँ नियन्त्रण उपकरण तथा अन्य सुरक्षात्मक साधनहरूको सही तरिका र उचित समयमा प्रयोग गर्नेबारे व्यावहारिक प्रदर्शन गरिएको थियो। यस्तै, रोप रेस्क्यु (डोरी प्रयोग गरेर उद्धार) सम्बन्धी उपकरणहरू—हार्नेस, क्याराबिनर, एन्कर, हेल्मेट, सेफ्टी लाइन आदिको परिचालन विधि सेनाको टोलीले प्रत्यक्ष रूपमा अभ्याससहित देखाएको थियो।

कार्यक्रम कालिमाटी गाउँपालिका–१ का वडा अध्यक्ष रबिलाल बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा प्रमुख सेनानी शिवनारायण श्रेष्ठ रहनुभएको थियो। सहभागीहरूले यस्तो तालिमले समुदायलाई आत्मनिर्भर बनाउँदै विपद्का बेला हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
