
सल्यानमा बाघको ४ दिनको फरकमा २ जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट फेरि आज मगंलबार अर्का एक जना पुरुषको मृत्यु भएको हो । कालिमाटी गाउँपालिका–६ हात्तिढुंगा घर भएका ६५ वर्षीय चन्द्रबहादुर खप्तडीको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । घरदेखि ३ सय मिटर टाढा रहेको घट्टमा पिठो पिस्न गएको र घर नफर्केकाले नेपाली सेना, प्रहरी र स्थानीयद्धारा खोजी गर्दै जाँदा बाघले दायाँ खुट्टाको आधा भाग खाइसकेको अवस्थामा शान्ति सामुदायिक वनमा फेला परेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक डा. हेमबहादुर केसीले बताउनु भयो ।
४ दिन अघि २५ गते मात्र बाघको आक्रमणबाट कालिमाटी गाउँपालिका ७ पर्सेनी घर भएकी वर्ष ४२ की धनसरा रावतको मृत्यु भएको थियो । महिलालाई मारेको बाघ सेनाले नियन्त्रणमा लिन नसकेपछि त्यहि बाघले नै खप्तडीलाई आक्रमण गरेर मारेको उहाँले जानकारी गराउनुभयो । नेपाली सेनाले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिन नसकेपछि अवस्था झनै भयावह बन्दै गएको कालिमाटी गाउँपालिका ७ का वडा अध्यक्ष मित्रलाल रिजालले बताउनु भयो । नरभक्षी बाघले साताको अवधीमा तीन जनाको ज्यान लिइसकेको र दुई वटा गोरु मारेको उहाँले जानकारी गराउनु भयो । बाघले धमाधम मान्छे मार्न थालेपछि ज्यान कसरी बचाउने भन्ने त्रास फैलिएको उहाँको भनाइ छ ।बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएको पाटे बाघको श्रृंखलाबद्ध आक्रमणले कर्णाली प्रदेशको सुर्खेत र सल्यान जिल्लाका बस्तीहरूमा त्रास फैलाएको छ।
