
कपुरकोट गाउँपालिका सल्यानले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन ५ सय ४९ जनाले सेवा लिएका छन् । गाउँपालिकाको आयोजना तथा राप्ती आँखा अस्पताल तुल्सीपुर, दाङ र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा, बाँकेको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा उल्लेख्य सेवाग्राहीको सहभागिता रहेको छ ।
कपुरकोट आधारभूत अस्पताल परिसरमा सञ्चालन भएको शिविरमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी स्क्रिनिङ, उपचार तथा शल्यक्रिया सेवा प्रदान गरिएको छ। शिविरको उद्घाटन कपुरकोट गाउँपालिका अध्यक्ष एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गा बहादुर पुनको अध्यक्षतामा गरिएको हो ।
शिविरमा आँखा सम्बन्धी सेवा लिनेको संख्या ३ सय ४८ जना रहेको छ। तीमध्ये दृष्टि कमजोर भएका ७८ जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो । कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलका अनुसार मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने ४४ जना पहिचान गरिएको छ । साथै, शल्यक्रियाका लागि ६४ जनाको ल्याब परीक्षण गरिएको छ भने आँखा सम्बन्धी सामान्य समस्या भएका १ सय ८२ जनाले उपचार सेवा लिएका छन् ।

यस्तै, नाक, कान तथा घाँटी सम्बन्धी समस्याका कारण २ सय १ जनाले सेवा लिएका छन् । कान सम्बन्धी सेवातर्फ ११ जनालाई शल्यक्रिया आवश्यक परेको छ भने १७ जनालाई श्रवण यन्त्र प्रयोग गर्न सिफारिस गरिएको छ । विभिन्न कारणले कान पाक्ने समस्या भएका २३ जना, कानमा संक्रमण भई हड्डीमा समस्या देखिएका ६ जना, कानमा बाह्य वस्तु अड्किएको १ जना तथा कानेगुजी जमेको समस्या भएका २६ जनाले सेवा लिएका छन् । साथै, कान सम्बन्धी सामान्य समस्या भएका १ सय १७ जनालाई उपचार तथा परामर्श प्रदान गरिएको छ । मोतिबिन्दुको निशुल्क शल्यक्रिया यही मिति ९ गते कपुरकोट आधारभूत अस्पतालमै गरिनेछ । अप्रेसनको लागि पालिकाले सहयोग गर्नेछ । प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार शिविरमा कपुरकोट गाउँपालिका लगायत छिमेी पालिका त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र रोल्पाको त्रिवेणी गाउँपालिका समेतका नागरिकले सेवा लिएका छन ।
