
सल्यानको कपुरकोट गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा तथा कान–नाक–घाँटी स्वास्थ्य शिविरबाट जम्मा ७ सय ३६ जनाले सेवा लिएका छन् । गाउँपालिकाको आयोजना तथा राप्ती आँखा अस्पताल तुल्सीपुर, दाङ र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा, बाँकेको प्राविधिक सहयोगमा माघ ८ र ९ गते आधारभूत अस्पताल कपुरकोट बाट सञ्चालित शिविरमा आँखा तथा कान–नाक–घाँटीसम्बन्धी समस्या भएका बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको हो ।
शिविरमा आँखा सम्बन्धी समस्या भएका ५३५ जनाले सेवा लिएका छन्। तीमध्ये ३ सय ५४ जना महिला र १८१ जना पुरुष रहेका छन् । आँखा परीक्षण गरिएकामध्ये १ सय १२ जनालाई चस्मा वितरण गरिएको छ भने ५८ जनाको आँखाको अप्रेसनका लागि ल्याब जाँच गरिएको कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले जानकारी दिनुभयो ।
यस्तै, कान–नाक–घाँटी सम्बन्धी समस्या भएका २०१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । तीमध्ये १ सय ३७ जना महिला र ६४ जना पुरुष रहेका छन् । परीक्षणका क्रममा कान सम्बन्धी समस्या देखिएका २८ जनालाई थप उपचारका लागि रिफर गरिएको छ ।
शिविरबाट ११ जनालाई कानको अप्रेसन आवश्यक रहेको निष्कर्ष निकालिएको छ भने १७ जनालाई श्रवण यन्त्र प्रयोग गर्नुपर्ने सिफारिस गरिएको छ । शिविरमा आँखा तथा कान सम्बन्धी अप्रेसन गर्नुपर्ने ५१ जनाको अप्रेसन गरिएको बताउनु भयो । उहाँका अनुसार ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार शिविरमा कपुरकोट गाउँपालिका लगायत छिमेकी पालिका त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र रोल्पाको त्रिवेणी गाउँपालिका समेतका नागरिकले सेवा लिएका छन ।
