
सल्यानमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला सबै पक्षले प्रतिबद्धता जनाएका छन् । निर्वाचन कार्यालय सल्यान र मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आयोजना गरिएको निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकमा निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय तथा सञ्चारकर्मीहरूले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

बैठकमा सहभागीहरूले समय र स्थान नजुध्ने गरी निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, कार्यक्रमबारे सम्बन्धित निकायलाई जानकारी गराउने तथा निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी सभा–सम्मेलन आयोजना गर्ने सहमति जनाएका छन् ।प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि आचारसंहिता कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रममा उम्मेदवार, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा जिल्लास्थित सञ्चारकर्मीहरूले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन रचनात्मक तथा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचन आचारसंहिता पालन भए–नभएको अनुगमनको जिम्मेवारी जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी तथा कोष तथा लेखा नियन्त्रक प्रमुखलाई दिइएको छ।

बैठकमा मुख्य निर्वाचन अधिकृत प्रल्हाद योगीले सबैको सम्मान हुने र मितव्ययी ढंगले निर्वाचन प्रचार–प्रसार गर्न राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो। उहाँले यो निर्वाचनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि नियालिएको उल्लेख गर्दै आचारसंहिता पूर्ण रूपमा पालना गर्न अनुरोध गर्नुभयो।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी महेन्द्र सापकोटाले निर्वाचन आचारसंहिता उम्मेदवारलाई मात्र नभई सबैलाई लागू हुने भएकाले आचारसंहिता विपरीत कुनै पनि गतिविधि नगर्न आग्रह गर्नुभयो। उहाँले सभ्य र स्वच्छ तरिकाले मत माग्दै स्वस्थ प्रतिस्पर्धाबाट निर्वाचन जित्न सुझाव दिनुभयो।
