
सल्यानका २ हजार ६ सय ६९ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार ६ कक्षामा अध्ययनरत किशोरी तथा विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइनेछ ।
कार्यालयका अनुसार यस अभियानअन्तर्गत गत वर्ष खोप लगाउन छुटेका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई समेत समेटिनेछ । खोप अभियान जिल्लाका १० वटै पालिकाका विभिन्न खोप केन्द्रमार्फत सञ्चालन गरिने स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तथा खोप संयोजक तारा रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाका १० पालिकामा रहेका २४७ खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुनेछ । देशव्यापी रूपमा सञ्चालन हुने यो कार्यक्रम यही माघ २७ गतेदेखि फागुन ५ गतेसम्म चल्नेछ । विद्यालय जाने किशोरीलाई विद्यालयमै खोप दिइनेछ भने विद्यालय नजाने किशोरीलाई अभियानका खोप केन्द्रबाट खोप लगाइने तयारी गरिएको छ । खोप अभियानका लागि करिब ५ सय स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गरिने बताइएको छ । जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । यो अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समिति संयोजक वेलाराम रावलले सल्यानमा खोपको अवस्था राम्रो रहेकाले आगामी दिनमा कसैलाई पनि खोपबाट नछुटाउन निर्देशन दिनुभयो । प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले खोप अभियानलाई प्रभावकारी बनाउँदै सबैको पहुँचमा खोप पु¥याउन सबै सरोकारवाला लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख असबिर बुढाथोकी, समन्वय अधिकारी निमबहादुर ओली, स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगर, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतलगायत स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।
