
स्वर्गीय आमा दिलमाया केसी र बुवा गजेन्द्र सिंह केसीको सम्झनामा सिद्ध कुमाख गाउँपालिका–३ स्थित निराजन माध्यमिक विद्यालयमा स्मृति कोष स्थापना गरिएको छ । आमा–बुवाप्रतिको सम्मान र विद्यार्थीको शैक्षिक प्रोत्साहनका उद्देश्यले छोरी कुस्मा केसी र ज्वाइँ बिरेन्द्र केसीले एक लाख एघार हजार एक सय एघार रुपैयाँ बराबरको स्मृति कोष स्थापना गर्नुभएको हो । शारदा नगरपालिका–५ रानिकोट निवासी कुस्मा केसी हाल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सल्यानमा कार्यरत हुनुहुन्छ भने ज्वाई बिरेन्द्र केसी पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानमा कार्यरत हुनुहुन्छ । उहाँहरूले विद्यालयमा शिक्षा क्षेत्रको विकासमा योगदान पु¥याउने उद्देश्यले उक्त स्मृति कोष स्थापना गर्नुभएको बताउनुभएको छ ।

विद्यालयका प्रधानाध्यापक धर्मराज घर्तीका अनुसार स्मृति कोषबाट प्राप्त हुने ब्याज रकम प्रत्येक वर्ष कक्षा १० प्राविधिक धारतर्फ एसईई परीक्षामा प्रथम हुने विद्यार्थीलाई पुरस्कारका रूपमा प्रदान गरिनेछ । यसले विद्यार्थीहरूलाई अध्ययनमा अझ मेहनत गर्न प्रेरणा मिल्ने र विद्यालयको शैक्षिक गुणस्तर उकास्न सहयोग पुग्ने उहाँको विश्वास छ ।
