
राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानले स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । नेपाली साहित्यको प्रवद्र्धन, पुराना साहित्यिक संरचनाहरूको खोजी तथा संरक्षण, अग्रज स्रष्टाहरूको सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले शनिबार सदरमुकाम खलंगास्थित लक्ष्मीप्रसाद देवकोटा पार्कमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको अध्यक्षता परिषद्का अध्यक्ष इन्द्र भण्डारी ’अंकित’ले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी रहनुभएको थियो । कार्यक्रममा सल्यान जिल्लाका विभिन्न ठाउँबाट उपस्थित भएका एक दर्जनभन्दा बढी स्रष्टाहरूले आफ्ना विविध विधाका साहित्यिक रचना वाचन गरेका थिए । कविता, गजल, मुक्तक, संस्मरण तथा कथाजस्ता साहित्यिक विधामा आधारित रचना प्रस्तुत गरिएका थिए ।

रचना वाचनमा प्रमुख जिल्ला अधिकारी सुवेदी, राप्ती साहित्य परिषदका संस्थापक अध्यक्ष केशव राज देवकोटा लगायत अन्य स्रष्टाहरु छविराज शर्मा, मौसमदास श्रेष्ठ, बिष्णु शर्मा, डिल्ली राज रावत, कल्पना परियार, मनोजबाबु मनोहर लगायत एक दर्जन स्रष्टाले रचना वाचन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुवेदीले साहित्य समाजको दर्पण भएको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा सिर्जना गर्ने बताउनु भयो । उहाँले साहित्यले समाज परिवर्तनको महत्वपूर्ण भूमिका खेल्ने बताउँदै राप्ती साहित्य परिषदले स्थानीयस्तरमा चलाएको साहित्यिक अभियानको प्रशंसा गनर्सभयो । उहाँले ठाउँ अनुसार फरक फरक साहित्यीक कार्यक्रमको आयोजना गर्नुपर्ने बताउनु भयो ।
अध्यक्ष इन्द्र भण्डारी ’अंकित’ले परिषद् आगामी दिनमा अझ बढी साहित्यिक कार्यक्रमहरू सञ्चालन गर्दै नयाँ प्रतिभाहरूको खोजी र उत्थानमा केन्द्रित हुने बताउनु भएको थियो । उहाँले पुरातात्विक र ऐतिहासिक धरोहरहरूलाई पनि साहित्यसँग जोडेर नयाँ दृष्टिकोण सिर्जना गर्नुपर्ने आवश्यकता बताउनु भयो । कार्यक्रमको सञ्चालन परिषद्का सदस्य सचिव नोखिराम थापाले गर्नुभएको थियो । उपस्थित साहित्यकार, पत्रकार तथा साहित्यप्रेमीहरूले यस्तो कार्यक्रमले जिल्लाको साहित्यिक गतिविधिमा नयां उर्जा थप्ने बताएका थिए ।
