
शीर्षक : दाई, झरना चन्द अर्पन
परदेशिएको दिन
दाई परदेशिएको दिनदेखि
घरको आँगन सुनसान भयो,
हासो त उस्तै छ ओठमा
तर मनभित्र केही हरायो।
तिमी हिँडेको त्यो बिहान
आकाश पनि रुँदै जस्तो थियो,
ढोकासम्म छोड्न जाँदा
पाइलाहरू भारी-भारी थियो।
आमाको आँचल भिजेको थियो,
बुबाको बोली रोकिएको,
म चुपचाप टोलाएर बसेँ
मन हजार टुक्रा भएको।
बिहान उठ्दा आमाको आँखा
झ्यालतिरै टल्किरहन्छ,
“आज फोन आउला कि?” भन्दै
मनले हजार आशा गर्छ।
भान्सामा चुलो बल्दा पनि
तिम्रो कुरा चलिरहन्छ,
“दाईलाई यो मन पर्थ्यो नि”
भन्दै सम्झना बल्झिरहन्छ।
तिमीले पठाएको पैसा त आयो
तर तिम्रो साथ आएन,
नोटले पेट त भरियो दाई
तर मन कहिल्यै भरिएन।
चाडपर्वमा टीका थाप्दा
खाली निधार रोइरहन्छ,
तिम्रो ठाउँमा फोटो राख्दा
आँखा आफैँ भिजिरहन्छ।
दशैंको पिङ एक्लै हल्लिन्छ,
तिहारको दियो मलिन हुन्छ,
हास्न खोज्दा पनि मनभित्र
किन हो कुहिरो जमिरहन्छ।
तिमीले बोकेको जिम्मेवारी
सानैमा ठूलो भयो दाई,
आफ्नो सपना थाति राखी
हामीलाई सुख दियौ दाई।
परदेशीको त्यो पसिना
हामीलाई सुख दिन बग्छ,
तर तिमी बिना यो घर
अधुरो-अधुरो नै लाग्छ।
राति कहिले तारा हेर्दै
तिम्रो नाम बिस्तारै बोल्छु,
“मेरो दाई पनि यही आकाशमुनि छ”
भन्दै मनलाई सम्झाउँछु।
सम्झनाको पुरानो एल्बम खोलेँ
हाम्रो बाल्यकाल देखिन्छ,
तिम्रो काँधमा बसेको म
आज पनि उस्तै रोइरहन्छ।
छिट्टै फर्किएर आउ है दाई,
आँगन फेरि हाँस्न देऊ,
परदेशको पीडा बिसाएर
हामीलाई अँगालो हाल्न देऊ।
घरको ढोका खुल्लै राख्छौँ
तिमी आउने बाटो हेरिरहन्छौँ,
तिम्रो पाइला सुन्ने आशामा
हरेक साँझ झ्यालमै उभिरहन्छौँ।
