प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारहरूको पेशागत हक–हित तथा सञ्चार क्षेत्रका विविध मागहरू सम्बोधन गर्न माग गर्दै प्रेस सेन्टर नेपाल, जिल्ला समिति सल्यानले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ। उक्त ज्ञापनपत्रमा संविधान अनुसार प्रेसमैत्री कानुन निर्माण, समानुपातिक विज्ञापन वितरण प्रणाली कार्यान्वयन, पत्रकार स्वास्थ्य तथा जीवन बीमा, सञ्चार सामग्रीमा भन्सार छुट, सञ्चार उपकरणको विमा, स्थानीय तहमा विज्ञापन वितरण कार्यविधि निर्माण, सूचना हकको प्रभावकारी कार्यान्वयन, र पत्रकारमाथि भइरहेका आक्रमण तथा धम्कीको अन्त्य गरी पत्रकार सुरक्षाको प्रत्याभूति दिलाउन माग गरिएको छ। ज्ञापनपत्र प्रेस सेन्टर कर्णाली प्रदेश अध्यक्ष प्रतिक इच्छुक शर्मा, जिल्ला सह–सचिव प्रदीप मगर, कमल धिताललगायत प्रेस सेन्टरमा आवद्ध पत्रकारहरूको टोलीले प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई बुझाएका हुन्। ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पुनले पत्रकारका हक–हित तथा जायज मागहरू सम्बन्धित निकायमा पठाउने र जिल्लाका सरोकारवाला निकायहरूसँग समन्वय गरी कार्यान्वयनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रेस सेन्टर नेपाल, सल्यानले जिल्लाका १० वटै पालिकामा पनि ज्ञापनपत्र बुझाएको छ। शारदा नगरपालिका, बागचौर नगरपालिका, बनगाड कुपिन्डे नगरपालिका, दार्मा गाउँपालिका, कुमाख गाउँपालिका, सिद्धकुमाख गाउँपालिका, त्रिवेणी गाउँपालिका, कालिमाटी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र कपुरकोट गाउँपालिकामा ईमेलमार्फत ज्ञापनपत्र पठाइएको हो।उक्त ज्ञापनपत्रमा प्रेस सेन्टर नेपाल, सल्यानकी जिल्ला अध्यक्ष सरिता चलाउनेको हस्ताक्षर रहेको छ। प्रेस सेन्टर नेपाल, सल्यानले पत्रकारिता क्षेत्रको गरिमा, स्वतन्त्रता र सुरक्षालाई सुनिश्चित गर्दै समावेशी, उत्तरदायी र जिम्मेवार सञ्चारको विकासमा यस अभियानले टेवा पुर्याउने विश्वास व्यक्त गरेको छ। ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतलाई समेत पठाइएको छ।