सल्यानमा एक महिनाको एडभान्स तालिम पश्चात दलित समुदायका महिलाहरु सिलाइ कटाइका लागि सक्षम भएका छन् । शुक्रबार जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं ६ स्थित लान्तीमा तालिम समापन कार्यक्रममा महिलाहरु आफ्नै हातले सिलाएको कपडा लगाएर सहभागि थिए । तालिम सिकेका १२ जना महिलाहरु सबैले आफ्नै हातले सिलाएका एकै रंगका कपडा लगाएका थिए । “सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने नारालाई व्यवहारमा उतार्दै दलित समुदायका महिलाहरु महिला तथा पुरुषका कपडा सिलाउन सक्षम भएका हुन् ।
यो तालिमले उनीहरुमा सीप प्रदान गरेको छ भने जीवनमा अब केही गर्न सकिन्छ भन्ने आत्मविश्वास पनि बढाएको छ । तालिम समापन कार्यक्रममा आफैले सिलाएको चिटिक्क कुर्ता सुरुवालमा सजिएकी दिपा विकले मुस्कुराउँदै भन्नु भयो, “पहिला सिलाउने ठाउँ खोज्नुपथ्र्यो, अब आफैँ सिउन सक्ने र अरु महिला पुरुषका लागि पनि सिउन सक्ने भएकी छु ।” स्वरोजगारको सम्भावनासहित आयआर्जनको यात्रा सुरु गर्ने एडभान्स तालिम प्राप्त गरेका महिलाहरुको सोच रहेको छ ।
तालिम समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले सीपले मानिसलाई अवसर मात्र नभएर आत्मबल पनि प्रदान गर्ने भन्दै अव व्यवसायीक रुपमा अघि बढ्न सुझाव दिनुभयो । गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, वडा नं ६ का वडा अध्यक्ष टिकाराम बुढा, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख जनक खड्का लगाएले बोल्दै सीप सिकेर व्यवसाय गर्नेहरुलाई अनुदान लगाएतका सहयोग गरिने बताउनु भयो ।
मुख्यमन्त्री दलित आयआर्जन प्रवद्र्धन कार्यक्रम अन्तर्गत संचालन गरिएको यस तालिमको आयोजना उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानले गरेको हो । जिल्लाको शारदा नगरपालिकामा पनि १६ जना महिलाहरुले एडभान्स कटाई सिलाई तालिम लिइरहेको भन्दै कार्यालयका सूचना अधिकारी ध्रुव बहादुर खत्रीले घरेलु तथा साना उद्यमलाई प्रवद्र्धनका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रमहरु सञ्चालन हुँदै आएको जानकारी दिनुभयो ।
गत वैशाख ४ गतेदेखि सुरु भएको तालिम शुक्रबार समापन गरिएको हो । समापन कार्यक्रममा वडा नं ६ का वडा सदस्य सागर नेपाली, श्री खड्गनाथ योगी, सामाजिक विकास कार्यालय सल्यानका अधिकृत पहलमान वली, प्रशिक्षक निम कुमारी थापा लगाएतको सहभागिता रहेको थियो ।।