निर्माण सामग्री अभावले एक महिनादेखि सडक स्तरोन्नतिको काम ठप्प


निर्माण सामग्री अभावले एक महिनादेखि सडक स्तरोन्नतिको काम ठप्प

सल्यान  थारमारे–मौलाहाले–बडागाउँ हुँदै चौरजहारी जोड्ने सडक स्तरोन्नतिको काम एक महिनादेखि ठप्प छ। निर्माण सामग्री अभावका कारण बैशाखको पहिलो सातादेखि काम रोकिएको निर्माण कम्पनीले जनाएको छ।

धुलिखेल अप्लाइट जेभी सिन्धुपाल्चोकले १३ करोड रुपैयाँको लागतमा सडक स्तरोन्नतिको जिम्मा लिएको थियो। कम्पनीले असार मसान्तसम्म कालोपत्रे सहितको काम सक्ने गरी पुर्वाधार विकास कार्यालय सल्यानसँग सम्झौता गरेको थियो। तर, निर्माण सामग्री अभाव भएपछि काम अघि बढ्न सकेको छैन।
सडक निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्री उत्पादन गर्न बागचौर नगरपालिका–३, चौरपानीमा राखिएको क्रसर उद्योग बन्द भएपछि काम रोकिएको निर्माण कम्पनीका साइट इन्चार्ज मुकुन्दराज तिवारीले जानकारी दिनुभयो। “सबबेसको काम धेरै ठाउँमा सकिएको छ, अब बेस बिछ्याउने चरणमा छौं, तर क्रसर बन्द भएपछि अगाडि बढ्न सकेनौं,” उहाँले भन्नुभयो।हाल कामदारहरू घर फर्काइएका छन् भने निर्माण उपकरणहरू साइट अफिसमै थन्किएका छन्।
सव-डिभिजन वन कार्यालय थारमारे र बागचौर नगरपालिकाले वातावरणीय प्रभाव मूल्यांकन (IEE ) बिना उत्खनन गरिएको भन्दै क्रसर उद्योग सञ्चालन रोक लगाएका हुन्। समन्वयको अभाव र कानुनी प्रक्रिया नपुगेका कारण निर्माण कम्पनीको काम एक महिनादेखि अवरुद्ध भएको हो।

काम समयमै सकिनेमा शंका
पूर्वाधार विकास कार्यालय सल्यानका इञ्जिनियर तथा सूचना अधिकारी सिधार्थ मिश्रका अनुसार काम रोकिँदा असार मसान्तसम्म कालोपत्रे सहितको काम सम्पन्न गर्न कठिन हुने देखिएको छ। “आर्थिक वर्षको अन्त्य नजिकिँदैछ, वर्षा पनि सुरु भइसकेको छ, यस्तो अवस्थामा समयमै काम सकिन गाह्रो छ,” उहाँले भन्नुभयो।
बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायतले निर्माण कम्पनीले थारमारे–चौरपानीबीचको भागको काम नगरेको भन्दै कार्यपालिकाको बैठकले त्यस क्षेत्रको काम पनि कम्पनीले गर्नुपर्ने निर्णय गरेको छ। “उक्त क्षेत्रको काम नगरी क्रसर सञ्चालनको अनुमति दिइने छैन,” उहाँले स्पष्ट पार्नुभयो। साथै, क्रसर सञ्चालनका लागि आवश्यक कागजात प्रस्तुत गरेपछि मात्रै स्थायी स्वीकृति दिन सकिने बताउनुभयो।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली