शारदा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि, पशुपालन, पर्यटन, स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा उद्यम प्रवर्द्धनमा विशेष प्राथमिकता दिइएको छ । बुधबार नगरसभाको १७औँ अधिवेशनमा नगरप्रमुख प्रकाश भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समृद्ध र आत्मनिर्भर शारदा निर्माणको दृष्टिकोणसहितका योजना सार्वजनिक गर्नुभएको हो । नगरपालिकाले कृषि तथा पशुपालनलाई व्यवसायिक बनाउँदै आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित कृषि विकास रणनीतिक योजना (२०८१–२०८५) अनुसार कार्यक्रम अगाडि बढाउने जनाएको छ । उन्नत बीउ वितरण, कृषक तालिम, भण्डारण सामग्री सहयोग, माटो परीक्षण प्रयोगशाला स्थापना, कृषि चुन वितरण, मलको नियमित आपूर्ति र पकेट तथा ब्लक कार्यक्रममार्फत उच्च मूल्यका बालीको प्रवर्द्धन गरिनेछ । पोषण सुरक्षाका लागि विद्यालय तथा घर वरपर तरकारी बगैंचा, सुनौला हजार दिनका परिवारमा पोषण बृद्धि कार्यक्रम, घुम्ती तालिम र कृषक घरदैलो सेवा जस्ता कार्यक्रमहरू सञ्चालन गरिने छन् । पशुपालनमा खसी, बोका, लोकल कुखुरा, कालिज, लौकाट, टर्की, मौरीपालन, दाना उत्पादन र कृत्रिम गर्भाधान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
रेविज नियन्त्रण खोप, One Health कार्यक्रम, सामुदायिक कुकुरको बन्ध्याकरण र पशु सेवा केन्द्र थप गर्ने योजना पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नगरले मेयर उत्कृष्ट कृषक पुरस्कार स्थापना गरी उद्यमशीलता र रोजगार सिर्जनामा थप जोड दिने भएको छ । बेरोजगार युवा, महिला र विपन्न वर्गका लागि सीप विकास तालिम, स्वरोजगार प्रोत्साहन र लघु उद्यम प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने छ । पर्यटन क्षेत्र प्रवर्द्धनका लागि खैरावाङ मन्दिर क्षेत्र विकास, बुद्ध पार्क संरक्षण, पार्क निर्माण, होमस्टे प्रवर्द्धन र पर्यटन सूचना केन्द्र स्थापना जस्ता योजना अगाडि सारिएको छ । स्वास्थ्य क्षेत्रमा ‘हाम्रो स्वास्थ्य, राम्रो स्वास्थ्य’ नारासहित विशेषज्ञ स्वास्थ्य शिविर, आपतकालीन सेवा सुदृढीकरण, पोषणयुक्त आहार वितरण, विद्यालय स्वास्थ्य कार्यक्रम, स्तनपान कक्ष स्थापना, किशोर प्रजनन स्वास्थ्य कार्यक्रम र मानसिक स्वास्थ्य सेवा विस्तार गरिनेछ । शिक्षा क्षेत्रमा १० वर्षे शिक्षा योजना, बालमैत्री वातावरण, शिक्षक तालिम, उत्कृष्ट विद्यालय/शिक्षक सम्मान, छात्रावास व्यवस्थापन, डिजिटल प्रविधिको प्रयोग र अभिभावक शिक्षामा जोड दिइने भएको छ । खेलकुद क्षेत्रमा जिल्लास्तरीय प्रतियोगिता, प्रशिक्षक व्यवस्थापन, मेयर कप क्रिकेट प्रतियोगिता निरन्तरता दिइनेछ भने खानेपानी र सरसफाइका लागि निजी धारा जडान, ठूला योजना सञ्चालन, फोहोरमैला व्यवस्थापन र स्वच्छता प्रवर्द्धन गरिनेछ ।
पूर्वाधार क्षेत्रमा सडक मर्मत, बत्ती विस्तार, बसपार्क व्यवस्थापन, सडक गुरुयोजना अद्यावधिक, नमूना विद्यालय सञ्चालन र संरचनागत सुधारमा ध्यान दिइने जनाइएको छ । वन, वातावरण र विपद् व्यवस्थापनमा जलवायु परिवर्तनमैत्री कार्यक्रम, वृक्षारोपण, फोहोर व्यवस्थापन सुधार र विपद् कोषमा विनियोजन गरिने योजना छ । नगरपालिकाले ‘शून्य बेरुजु’ नीति अंगाल्दै आन्तरिक नियन्त्रण प्रणाली, लेखा परीक्षण सुधार, सूचना पाटी र डिजिटल सेवा विस्तारलाई पनि प्राथमिकतामा राखेको छ । नगरप्रमुख भण्डारीले समापन मन्तव्यमा भन्नुभयो, “समृद्ध कर्णाली, सुखी कर्णालीबासी भन्ने नारालाई आत्मसात गर्दै आत्मनिर्भर, न्याययुक्त र दिगो विकासलाई लक्ष्य बनाएर नीति तथा कार्यक्रम ल्याइएको हो ।”