भगेनी सम्बन्ध जोडेको तारकेश्वर नगरपालिकाले सल्यानको शारदा नगरपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । जिल्लाको शारदा नगरपालिकालाई सहयोग स्वरूप एक थान एम्बुलेन्स प्रदान गरेको हो । तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्ण हरि महर्जनले एक औपचारिक समारोहका बीच उक्त एम्बुलेन्स शारदा नगरपालिकाका लाई हस्तान्तरण गर्नुभयो । स्वास्थ्य सेवा सुदृढ बनाउने उद्देश्यले एम्बुलेन्स प्रदान गरेको हो ।
तारकेश्वर नगरपालिका र शारदा नगरपालिका बीच २०८० सालमा भगिनी सम्बन्ध स्थापना भएको थियो । सोही समझदारीअनुसार परस्पर सहकार्यमा आधारित कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन ्।
शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै भन्नुभयो, “यो एम्बुलेन्सले नगरवासीहरूलाई आपतकालीन अवस्थामा समयमै स्वास्थ्य सेवा प्राप्त गर्न मद्दत गर्नेछ । यस्तो सहकार्यले स्थानीय तहहरूबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको छ।” प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाका अनुसार एम्बुलेन्स खरिद तथा थप यन्त्र जडान लागि कुल २४ लाख २० हजार १ सय रुपैयाँ लागत लागेको छ। यसमध्ये कम्पनी मूल्य २० लाख ८ हजार १ सय रुपैयाँ र ४ लाख १२ हजार रुपैयाँ एसीसहितको यन्त्र जडानमा खर्च गरिएको हो । उहाँले एम्बुलेन्सलाई यातायात कार्यालयमा पास गरी केही दिनभित्रै औपचारिक रूपमा सञ्चालनमा ल्याइने जानकारी दिनुभयो। नगरप्रमुख महर्जनले दुर्गम क्षेत्रका पालिकासँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा पनि सहकार्यलाई निरन्तरता दिइने बताउनुभयो । स्थानीय सरकारहरूबीचको सद्भाव, समन्वय र साझेदारीमा आधारित यो सहयोगले संघीयताको व्यवहारिक कार्यान्वयनमा सकारात्मक सन्देश दिएको बताइएको छ।