सल्यानको वनगाड कुपिण्डे नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले नगरसभाको १७औँ अधिवेशनमा प्रस्तुत गर्नु भएको उक्त नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षा, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई समृद्धिको आधारका रूपमा प्राथमिकता दिइएको छ।
नगर प्रमुख बुढाथोकीले अघिल्ला वर्षहरूमा लिइएका नीतिहरुको सन्तोषजनक कार्यान्वयन भएको उल्लेख गर्दै आगामी वर्षमा अझ उत्कृष्ट कार्य सम्पादन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमअनुसार नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा निजी, सहकारी र समूहगत साझेदारीमा व्यवसायिक फार्म सञ्चालन गर्ने, ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई प्राथमिकता दिने र नगदे बाली तथा रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने नीति अघि सारेको छ।
यस्तै, उद्योग तथा वाणिज्य क्षेत्रमा घरेलु सीपमूलक उत्पादनहरू जस्तै अचार, ढाँका कपडा, सिलाई कटाई लगायतका साना उद्यमहरूलाई प्राविधिक तथा आर्थिक सहयोग दिने तयारी गरिएको छ। होटेल तथा पर्यटन व्यवसायलाई समेत व्यवस्थित र व्यावसायिक बनाउने योजना रहेको छ।
पर्यटन क्षेत्रमा कुपिण्डे ताललाई केन्द्रविन्दु बनाई होमस्टे प्रवर्द्धन, संस्कृति संरक्षण तथा भेरी नदीमा जल पर्यटन विकास गर्ने योजना सार्वजनिक गरिएको छ। यसका लागि स्थानीय पूर्वाधार विकास र आवश्यक प्रविधि हस्तान्तरण गरिने जनाइएको छ।
सहकारी क्षेत्रको सुदृढीकरण र सहकारीहरूसँग साझेदारीमा आर्थिक क्रियाकलाप अघि बढाइने नीति पनि प्रस्तुत गरिएको छ।
वनगाड कुपिण्डे नगरपालिकाको चालु आवका अधुरा योजनाहरू सम्पन्न गर्ने, स्थानीय स्रोत र सीप प्रयोग गरी रोजगारी सिर्जना गर्ने र समुदायका आवश्यकतालाई सम्बोधन गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ। कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भिमप्रकाश शर्माले स्थानीय सरकारलाई जनताको चुलोको सरकारको संज्ञा दिंदै जनताको सबैभन्दा नजिकको सरकार भएकाले माग, अपेक्षा र आलोचना पनि त्यही सरकारप्रति बढी हुने बताउनुभएको छ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको १७औं नगरसभा उद्घाटन गर्दै शर्माले सिमित स्रोतसाधनका बाबजुद नगरपालिकाले गरेको विकास कार्य उल्लेखनीय रहेको र यसले जनविश्वास बढाएको बताउनुभयो।
उहाँले भन्नुभयो, “स्थानीय सरकारले लिएका साना कार्यक्रमले जनताको आवश्यकताको सम्बोधन मात्र होइन, जनताको विश्वाससमेत जित्ने गरेका छन्। सरकार जनमुखी हुन सके जनताको व्यवस्थाप्रति धारणा बलियो हुन्छ।”
शर्माले प्रदेश सरकारको तर्फबाट बनगाड क्षेत्रमा खानेपानी, सडकजस्ता पूर्वाधारका महत्वपूर्ण योजना ल्याइएको र आगामी दिनमा तिनलाई निरन्तरता दिइने स्पष्ट पार्नुभयो। स्थानीय सरकार स्थिर हुने भएकाले नीति र कार्यक्रमअनुसार बजेट ल्याई कार्यान्वयनमा सहजता हुने समेत उहाँको भनाइ थियो।
उहाँले थप भन्नुभयो, “स्थानीय तहको सरकार संघ वा प्रदेशभन्दा बलियो हुन्छ, किनभने यसले पाँच वर्षको पूरा कार्यकाल पाउँछ। यही स्थायित्वले साना योजना भए पनि परिणाम दिन्छ।”
कर्णाली प्रदेशमै बेरुजु शून्य बनाउने पहिलो पालिका बनगाड कुपिण्डे भएको उल्लेख गर्दै शर्माले यसलाई सुशासनको उदाहरणका रूपमा लिनुपर्ने र निरन्तरता दिनुपर्ने बताए।
नीति, कार्यक्रम र बजेटबीच तालमेल नहुँदा बेरुजु आउने गरेको भन्दै उहाँले अबदेखि बजेट बनाउँदा नीति अनुरूपको समन्वय गर्नुपर्ने धारणा राख्नुभयो।
पूर्वमन्त्री समेत रहेका शर्माले कर्णाली प्रदेश सरकारको योजना बैंक निर्माणपछिको कार्यान्वयन कमजोर भएको उल्लेख गर्दै, “योजना कार्यान्वयन नगर्दा प्रदेश सरकारले जनविश्वास गुमाउँदैछ। जिल्ला जिल्लाबाट आएका योजनालाई बजेटमा समावेश नगरी सत्ता पक्षले चोरबाटोबाट आफ्ना योजना अघि बढाएको छ,” भन्दै आलोचना गर्नुभयो।
उहाँले योजना बैंकका लागि जिल्ला जिल्लामा सन्दर्भगत छलफल गरेर सुझाव संकलन गरिएको भए पनि ती योजना बजेटमा परेनन् भने त्यस प्रक्रियाको औचित्यमाथि प्रश्न उठाउनु भयो।