एमाले सल्यानले घर फिर्ता अभियान चलाउने

  • मेरो जिल्ला
  • / नेकपा एमाले /
  • २०८२ कार्तिक २०, बिहिबार (१ महिना अघि)
  • ६८७ पटक पढिएको

एमाले सल्यानले घर फिर्ता अभियान चलाउने

नेकपा (एमाले) सल्यानले नयाँ चरणको घर फिर्ता अभियान सञ्चालन गर्ने भएको छ । जिल्ला कमिटीका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षतामा जिल्ला कमिटी पदाधिकारी, पालिका इन्चार्जहरु तथा पालिका कमिटी अध्यक्षहरु सहित भएको बैठकले विभिन्न परिस्थितिमा पार्टी परित्याग गरेका, अलग भएका वा निष्क्रिय बनेका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई एमालेमा पुनः फर्किन आह्वान गरेको हो । विहिबार सदरमुकाम खलंगा स्थित पार्टी कार्यालयमा सम्पन्न बैठकले केन्द्रीय कमिटीको दसौँ बैठकले तय गरेको नीति अनुरूप प्रतिगामी गतिविधिलाई परास्त गर्दै मुलुकलाई संवैधानिक व्यवस्थातर्फ उन्मुख गराउने उद्देश्यले जिल्लाभर जनपरिचालन कार्यक्रम गर्ने निर्णय पनि गरेको जिल्ला कमिटी उपसचिव तथा प्रचार विभाग प्रमुख गणेशमान सिंहले जानकारी दिनुभयो ।

पछिल्लो समय नेकपा (एकीकृत समाजवादी) का केही नेताहरू माओवादी केन्द्रसँग एकताको नाममा अघि बढेको सन्दर्भमा त्यसको दिशा र कामको स्पष्टता नभएको भन्दै जिल्ला कमिटीले सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई मूल घर नेकपा (एमाले) मा फर्काउन अभियान चलाउने निर्णय गरेको हो । यसका लागि पालिकाहरुमा विशेष पहल थालिने एमालेले जनाएको छ । बैठकलाई सम्बोधन गर्दै जिल्ला कमिटी अध्यक्ष सेनले विभिन्न समयमा वैचारिक मतभेद वा परिस्थितिवश अलग भएकाहरुका लागि एमाले सधैं खुला रहेको बताउनुभयो । अन्यत्र अब संगठनात्मक स्थिरता र जनताको विश्वास नै नभएको भन्दै उहाँले मूल घर फर्किएर कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन आग्रह गर्नुभयो । एमाले सल्यानले यसअघि सयौं नेता कार्यकर्ता एमालेमा समाहित भइसकेको जनाएको छ ।
बैठकले पार्टी केन्द्रले निर्देश गरेका सम्पूर्ण कार्यक्रमहरूलाई यही कात्तिक २२ गते सबै वडा, २५ गते पालिका र २९ गते जिल्ला स्तरमा प्रभावकारी रूपमा जनसभा सञ्चालन गर्ने निर्णय गरेको हो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली