
नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशनका लागि सल्यान बाट आठ जना प्रतिनिधिका रूपमा चयन भएका छन । पार्टीको आन्तरिक व्यवस्थापनअनुसार जिल्ला तहबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू छनोट गरी केन्द्रमा पठाउने प्रक्रिया अन्तर्गत सोमबार सार्वजनिक गरिएको सूचनामा आठ जनाको नामावली समावेश गरिएको छ।
जिल्ला निर्वाचन अधिकृतले जारी गरेको सूचनाअनुसार खुला तर्फ चार जना प्रतिनिधि चयन भएका हुन । तीमध्ये भिम बहादुर सेन, ओज बहादुर बुढाथोकी, लाल बहादुर रावत र धनप्रसाद शर्मा रहेका छन्। खुला तर्फका प्रतिनिधि चयनमा अनुभव, संगठनमा गरेको योगदान तथा स्थानीय इकाई संरचनामा सक्रिय भूमिकालाई आधार मानिएको एमाले सल्यानले जनाएको छ ।
त्यस्तै महिला तर्फ दुई जनाको मनोनयन गरिएको छ। पुष्पा कुमारी बुढाथोकी र सनसिल्ता वली (डि.सी.) यसपटक महिला कोटाबाट प्रतिनिधि बन्न सफल भएका छन्। पार्टीभित्र महिलाको नेतृत्व विकास र सहभागिता विस्तार गर्ने उद्देश्यअनुरूप महिला कोटामा विशेष ध्यान दिइएको जिल्ला नेतृत्वले जनाएको छ।
युवा सहभागिता वृद्धि गर्ने लक्ष्यअनुसार युवा कोटाबाट गणेशमान सिंह चयन भएका छन्। सक्रिय युवा कार्यकर्तालाई प्रतिनिधित्व गर्दै आगामी महाधिवेशनमा युवाको विचार, योजना र संरचनात्मक सुझाब प्रभावकारी रूपमा प्रस्तुत हुनेछ भन्ने अपेक्षा गरिएको छ।
त्यस्तै दलित तर्फ भिमसेन नेपालीको नाम छनोट भएको छ। महाधिवेशन प्रतिनिधिहरूको यो सूची जिल्लाबाट प्राप्त मनोनयन र संगठनात्मक प्रक्रियाको आधारमा केन्द्रले मागेका संख्याअनुसार पठाइएको एमाले सल्यानले जनाएको छ । नेकपा एमालेकाे ११ औं राष्ट्रिय महाधिवेशन यहीँ मंसिर २७ देखि २९ गते सम्म काठमाडौंमा हुदैछ।
