
सल्यानमा नेपाली सेनाले सञ्चालन गरेको निशुल्क स्वास्थ्य शिविरमा ६ सय जनाले विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन । जिल्लाको कुमाख गाउँपालिका –५, तिमिलकाँडा–नेटामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय महिला र २ सय पुरुषले स्वास्थ्य सेवा लिएका हुन । श्री सिद्धिबक्स गणको आयोजना तथा श्री नं. १९ फि.ए. गुल्मको समन्वयमा र कुमाख गाउँपालिका सल्यान, स्वास्थ्य सेवा कार्यालय सल्यानको सहकार्य गरिएको एक दिने शिविरमा ओपीडी जाँच, प्रयोगशाला परीक्षण, अल्ट्रासाउन्ड, दन्त उपचार, स्वास्थ्य परामर्श दिइएको थियो । यस्तै शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको छ ।

दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता देखिएको थियो । उपचारका लागि सदरमुकाम वा निजी अस्पताल धाउनुपर्ने बाध्यता रहेकाले गाउँमै सेवा पाउँदा स्थानीय खुशी देखिएका छन् । शिविरमा ९२ जनाले भिडियो एक्सरे सेवा, ८९ जनाको पाठेघरको जाँच, ७५ जनाले दन्त सेवा, ६१ जनाको दात निकाल्ने सेवा, २५ जनाले विभिन्न प्रकाका ल्याब सेवा पाएका थिए । यस्तै १२ जनाको ई सि जि मुटुको जाँच, ४५ जना पाठेघरको मुखको क्यान्सर को जाँच गरिएको थियो । पाठेघरको मुखको क्यान्सर जाँच मध्य २ जनाको पोजिटिभ पाईएको थियो । जटिल खालका बिरामीलाई उपचारको लागि जिल्ला अस्पताल तथा जिल्ला बाहिर जान सल्लाह सुझाव दिइएको छ ।
श्री सिद्धिबक्स गणका गणपति प्रमुख सेनानी शिवनारायण श्रेष्ठले नेपाली सेनाले दुर्गम भूभागमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्न निरन्तर यस्ता सामाजिक सेवामूलक कार्यक्रमहरु गर्दै आएको बताउनु भयो । उहाँका अनुसार दुर्गम क्षेत्रका नागरिक अझै पनि स्वास्थ्यको पहुँचमा आउन नसकेकाले त्यस्ता नागरिकलाई लक्षित गरि शिविरको आयोजना गरिएको हो । शिविरमा कुमाख गाउँपालिकाका अध्यक्ष मानबहादुर बुढाथोकीले दुर्गम तथा आर्थिक रूपमा कमजोर नागरिकलाई यस्ता शिविरले प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो । शिविरबाट कुमाख गाउँपालिका, दार्मा गाउँपालिका तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिका लगायतका स्थानीयले सेवा लिएका थिए ।
शिविरमा नेपाली सेनाका विशेषज्ञ चिकित्सक टोलीसँगै जिल्ला अस्पताल सल्यान र कर्णाली अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो ।

उहाँ सरिता मेरो जिल्ला डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |
