सल्यानको पूर्वाधार विकास र सडक समस्यामाथि समाधानाको लागि सरोकारवाला सहितको सर्वदलिय सर्वपक्षीय बैठक सम्पन्न भएको छ । जिल्लाको समग्र विकास र विशेष गरी सडक पूल पूर्वाधार निर्माणको अवस्थाबारे छलफल गर्न जिल्ला प्रशासन कार्यालय सल्यानमा सोमबार सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको हो । बैठकमा प्रतिनिधिसभा सांसद प्रकाश ज्वाला, जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल स्थानिय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू सडक डिभिजन, निर्माण व्यवसायीको उपस्थिति थियो । बैठकमा विशेष गरी अलपत्र र ढिलो भैरहेका सडक पूर्वाधार, क्रसर उद्योग, तथा विकास योजनाको प्रभावकारी कार्यान्वयनमा केन्द्रित रहेर छलफल गरिएको प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले बताउनु भयो ।
बैठकमा सरोकारवालासँग विकास पूर्वाधारसम्बन्धी योजनाको प्रगति समीक्षा गर्दै निर्माण व्यवसायीहरूलाई तोकिएको समयभित्र काम सम्पन्न गर्न निर्देशन गरिएको छ । सडक राजमार्गमा राखिएका ढुंगा, गिट्टी, बालुवाजस्ता सामग्री समयमै नहटाउँदा दुर्घटना र संरचनात्मक क्षति हुने भएकाले कार्य सम्पन्न भएपछि ती सामग्री हटाउन स्पष्ट निर्देशन दिइएको छ ।
कपुरकोट गाउँपालिका–३ स्थित राप्ती राजमार्ग खण्डमा पहिरोका कारण पटक–पटक सडक अबरुद्ध भएको भन्दै निर्माण व्यवसायीलाई आवश्यक जनशक्ति र उपकरण थप गरेर छिटो काम सम्पन्न गर्न भनिएको छ। साथै, सडक खुला राख्न आवश्यक उपकरण (चालकसहित) तयारी अवस्थामा राख्न सडक डिभिजन कार्यालय दाङलाई निर्देशन दिइएको छ । त्यस्तै, वर्षा नजिकिँदै गर्दा बागचौर– सडक खण्डमा काम ढिलो हुँदा संभावित दुर्घटनाबाट जनधनको क्षति हुन सक्ने देखिएकाले उक्त खण्डको निर्माण कार्यलाई प्राथमिकता दिन भनिएको छ । सडक किनारमा रहेका ट्राफिक साइन बोर्डहरू मेटिएर प्रष्ट नदेखिने अवस्था आएको भन्दै ती बोर्डहरूको मर्मत तथा अध्यावधिक गर्न पनि सडक डिभिजन दाङलाई निर्देशन दिइएको वताउनुभयो।
सडकमा अलपत्र सामाग्री हटाउने, काम तीव्र गतिमा सम्पन्न गर्ने, र वर्षायाम अघि जोखिम न्यूनीकरणमा जोड दिने, बर्षा लागिसकेले तिब्ररुपमा कामको गति बढाउन निर्देशन दिइएको बताउनु भयो ।
त्यसैगरी, नेपाल विद्युत प्राधिकरणलाई लाइन निर्माण तथा विस्तारको क्रममा सम्भावित जोखिमको आँकलन गरेर सुरक्षित तरिकाले काम गर्न, र सडक विस्तार आवश्यक परेमा पोल समयमै स्थानान्तरण गर्न पनि बैठकबाट निर्देशन दिइएको छ ।
बैठकमा उपस्थित सरोकारवालाहरूले विकासमा प्रभावकारी समन्वय, जवाफदेही निर्माण, र पूर्वतयारीसहितको कार्यान्वयनमा जोड दिएका थिए।
सर्वदलिय बैठकमा प्रतिनिधिसभा सांसद प्रकाश ज्वालाले विकास निर्माणका कामहरू समयमै सम्पन्न नहुँदा जनताले सास्ती भोग्नुपरेको बताउनु भयो । उहाँले सम्बन्धित निकाय र निर्माण व्यवसायीले जवाफदेही भएर समयै काम गर्नुपर्ने बताउनु भयो । केही बिकास निर्माणका काम निर्माण सामाग्री अवाभको बहाना दखाउदै निर्माण व्यवसायी पन्छिने गरेकाले निकासको पाटो तर्फ लाग्नुपर्ने बताउनु भयो ।
उसै त सल्यानमा बजेट कम छ, लागेका ठेक्का पट्टा पनि समयमै सकौ, गुणस्तरीय काम गरौ, बर्षा आउन थाल्यो, संघ, प्रदेश र स्थानिय तह बाट संचालन भैरहेका बिकास निर्मांणका कामलाई प्राथामिकताका साथ अगाडी बढाउ । विकास योजनाको प्रभावकारी कार्यान्वयनमा सबै निकाय गम्भीर हुन जरुरी रहेको सांसद ज्वालाले बताउनु भयो ।।