सल्यानको सल्लीबजारमा होटल, रेस्टुरेन्ट तथा होमस्टे सञ्चालकहरूका लागि आतिथ्यता सम्बन्धी दुईदिने तालिम सुरु भएको छ। बिहीबारदेखि सुरु भएको तालिम शुक्रबार सम्पन्न हुनेछ।
कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, सुर्खेतको आयोजनामा तालिम सञ्चालन गरिएको हो।
तालिममा वनगाड कुपिण्डे नगरपालिका (सल्यान) र सिम्ता गाउँपालिका (सुर्खेत) भित्रका ५० जना होटल, रेस्टुरेन्ट तथा होमस्टे सञ्चालकहरूको सहभागिता रहेको छ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन सम्भावना भएका क्षेत्रमा यस्ता तालिम सञ्चालन गरिँदै आएको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रकी निर्देशक रेणुका न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार ‘नेपालका सय पर्यटकीय क्षेत्र’ अन्तर्गत पर्ने कुपिण्डे ताल, भेरी नदीलगायत क्षेत्रको पर्यटन सम्भावना उच्च भएकाले यहाँका व्यवसायीलाई तालिम प्रदान गरिएको हो।
तालिममा Culinary & The Hospitality Center Pvt. Ltd. का प्रशिक्षक केशवबहादुर कठायतले आतिथ्यता, खानपान व्यवस्थापन, होटलसम्बन्धी नीति तथा कानुनबारे प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा वनगाड कुपिण्डे सव-डिभिजन वन कार्यालय सल्लीबजारका प्रमुख कमल चित्रकार, सामुदायिक वन उपभोक्ता महासंघ कर्णाली प्रदेश सचिवालय सदस्य इन्द्रबहादुर बुढाथोकी, लेखा अधिकृत चन्द्रमती बस्नेत, सिम्ता सव-डिभिजनका गोविन्दलाल गिरि लगायतको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका अधिकृत गंगा त्रिपाठीले गर्नुभएको थियो ।।