
बनगाड कुपिण्डे नगरपालिकामा पाँचौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा प्रभाकर माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन नगरप्रमुख कर्णबहादुर बुढाथोकी ‘छहरी’ र उपप्रमुख पुरुषोत्तम आचार्यले संयुक्त रूपमा गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले खेलकुदले बालबालिकामा अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गराउने भएकाले पढाइसँगै खेलकुदलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो। नगरपालिकाले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले खेल मैदान निर्माणका लागि आवश्यक पहल भइरहेको जानकारी दिनुभयो। साथै, पूर्वाधारसँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत नगरपालिकाले लगानी बढाइरहेको बताउनु भयो ।
उपप्रमुख पुरुषोत्तम आचार्यले बालबालिका राष्ट्रका भविष्यका कर्णधार भएकाले उनीहरूका लागि खेलकुद क्षेत्र महत्वपूर्ण अवसर भएको बताउनुभयो। खेलकुदले बालबालिकालाई अनुशासित, सक्षम र प्रतिस्पर्धी बनाउने उल्लेख गर्दै उहाँले यस्ता प्रतियोगिताले प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीले विद्यालय तहबाटै खेल प्रतिभा पहिचान गरी भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य रहेको बताउनुभयो।

खेलकुद शाखाका अनुसार यस वर्ष छात्र तथा छात्रातर्फ भलिबल, एथलेटिक्स र मार्सल आर्ट्स समावेश गरिएको छ। प्रतियोगितामा जम्मा ५४ स्वर्ण, ५४ रजत र ५४ भन्दा बढी कांस्य पदकका लागि प्रतिस्पर्धा हुने जनाइएको छ। नगरपालिकाभित्रका २ संस्थागत र ८ सामुदायिक गरी १० विद्यालयका ४ सय ८३ विद्यार्थीहरूको सहभागिता रहेको छ। प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुनेछ।
जिल्ला खेलकुद विकास समिति सल्यानका अध्यक्ष खडक आचार्य र वडा नम्बर ७ का अध्यक्ष जीवनसिंह ठकुरीले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
नगर खेलकुद विकास समितिका संयोजक रिमबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रभाकर माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश चन्दले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वरिष्ठ शिक्षा शाखा अधिकृत टीकाराम आचार्यले गर्नुभएको थियो।
प्रतियोगिताले नगरभित्रका विद्यार्थीहरूमा खेलकुदप्रति उत्साह बढाउने तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।
