
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्रसहित अधिकांश निर्वाचन सामग्री सल्यान आइपुगेको छ । निर्वाचन आयोगबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ र समानुपातिकको मतपत्र तथा मतदानका लागि आवश्यक सामग्री जिल्लामा ल्याइएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख धिरेन्द्र भण्डारीका अनुसार आयोगबाट प्राप्त मतपत्र र अन्य सामग्री सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयमा पठाइएको छ । उहाँले कुल मतदाता सङ्ख्याभन्दा करिब १० प्रतिशत बढी मतपत्र प्राप्त भएको जानकारी दिनुभयो । आकस्मिक अवस्थालाई मध्यनजर गर्दै थप मतपत्र उपलब्ध गराइएको उनले बताउनु भयो । निर्वाचनका लागि आवश्यक केही सामग्री आइसकेको र बाँकी सामग्री आउने क्रममा रहेको कार्यालयले जनाएको छ । प्राप्त मतपत्रहरू रुजु गर्ने (जाँच गर्ने) कार्य समेत सम्पन्न भइसकेको छ । सल्यानमा कुल १ लाख ६२ हजार ४सय ४९ मतदाता रहेका छन ्। मुख्य निर्वाचन अधिकृत प्रल्हाद कुमार योगीका अनुसार निर्वाचनको सम्पूर्ण तयारीलाई तीव्र पारिएको छ । मतदान केन्द्र व्यवस्थापन, कर्मचारी परिचालन, सुरक्षा समन्वय लगायतका काम अन्तिम चरणमा पुगेको उहाँले बताउनु भयो । जिल्लाभर १ सय मतदान स्थल अन्तर्गत २ सय ५ मतदान केन्द्र कायम गरिएका छन् । निर्वाचनलाई भयरहित, निष्पक्ष र व्यवस्थित बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अतिरिक्त सुरक्षा जनशक्ति समेत परिचालन भइसकेको छ । निर्वाचन सामग्री समयमै आइपुगेपछि जिल्लामा निर्वाचनको माहोल थप सक्रिय बनेको छ भने सरोकारवाला निकायहरूले तयारीलाई अन्तिम रूप दिइरहेका छन ्।

उहाँ सरिता मेरो जिल्ला डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |
