निर्वाचनलाई लक्षित गर्दै सल्यानमा सेना,प्रहरीको संयुक्त गस्ती सुरु

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८२ फागुन ३, आईतबार (३ हप्ता अघि)
  • १०१ पटक पढिएको

निर्वाचनलाई लक्षित गर्दै सल्यानमा सेना,प्रहरीको संयुक्त गस्ती सुरु

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सल्यानमा सेना–प्रहरीको संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले समन्वयात्मक रूपमा संयुक्त गस्ती थालेका हुन् । यसअघि माघ २१ गतेदेखि नेपाली सेनाले जिल्लाका १० वटै स्थानीय तहमा सुरक्षा गस्ती सञ्चालन गर्दै आएको थियो । आइतबारदेखि भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले समन्वयात्मक रूपमा सुरक्षा निगरानी सुरु गरेको जनाएको छ ।

नेपाली सेना श्री सिद्धिबक्स गण सिमखर्क ब्यारेकका प्रमुख सेनानी शिवनारायण श्रेष्ठका अनुसार निर्वाचन लक्षित सुरक्षा योजना अन्तर्गत अति संवेदनशील तथा संवेदनशील मतदान स्थलहरूमा विशेष सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान सम्पन्न नहुँदासम्म मतदान केन्द्रको बाहिरी तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने गरी आवश्यक समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो । जुनसुकै बेला आउन सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै बम डिस्पोजल टोली पनि तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ ।

अन्य सुरक्षा निकायसँगको सहकार्यमा मतपेटिका मतदान केन्द्रसम्म सुरक्षित रूपमा पुर्‍याउने तथा मतदान पश्चात् मतपेटिका सदरमुकामसम्म सुरक्षित रूपमा ल्याउने तयारीसमेत गरिएको सेनाले जनाएको छ  जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डा। हेम बहादुर केसीले आवश्यक सुरक्षा तयारी पूरा भएको बताउनुभयो । केही दिनभित्रै आवश्यक प्रहरी तथा निर्वाचन प्रहरी खटाइने जानकारी पनि उहाँले दिनुभयो ।  यसैगरी सशस्त्र प्रहरी बल, नेपाल गुल्म सल्यानका प्रहरी नायव उपरीक्षक भरत बहादुर कवरका अनुसार जिल्लाका विभिन्न मतदान केन्द्रमा संयुक्त गस्ती परिचालन गरिएको छ । सम्पूर्ण निर्वाचन क्षेत्रलाई समेट्ने गरी बागचौर नगरपालिका–२ खरिबोटमा सशस्त्र प्रहरी नायव उपरीक्षक सुन्दर श्रेष्ठको कमाण्डमा निर्वाचन क्षेत्र सुरक्षा बेस स्थापना गरिएको छ । निर्वाचनलाई स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन सशस्त्र प्रहरी टोली तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।

यस क्रममा बागचौर नगरपालिकामा सिद्धिबक्स गणबाट खटिनुभएका कम्पनी अपरेटिङ बेस थारमारेका कमाण्डर सेनानी महेश अधिकारीको नेतृत्वमा, सशस्त्र प्रहरी बल नेपाल सल्यान जिल्ला निर्वाचन सुरक्षा बेस खरिबोटका कमाण्डर डीएसपी सुन्दर श्रेष्ठ र इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको नेपाल प्रहरीको टोलीले संयुक्त गस्ती सञ्चालन गरेको थियो ।जिल्लाका बजार क्षेत्रदेखि ग्रामीण भेगसम्म संयुक्त गस्ती परिचालन भएपछि निर्वाचनको माहोल क्रमशः सक्रिय बन्दै गएको स्थानीयवासीले बताएका छन् ।

छुटाउनु भयो की?

ताजा अपडेट

२ हप्ता अघि

दाई परदेशिएको दिन

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली