
आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मतदाता केन्द्रित घरदैलो अभियानलाई तीव्र बनाएको छ। गाउँ–गाउँ पुगेर प्रत्यक्ष संवाद गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अभियानले ग्रामीण बस्तीहरूमा चुनावी माहोल थप तताएको छ भने मतदाताको उत्साहसमेत उल्लेखनीय रूपमा बढेको देखिएको छ।
पार्टीका नेता तथा कार्यकर्ताहरूले आज दार्मा गाउँपालिका का मैदान, मौलेईखाली, फारुलाचौर, मौलाहाले लगायत आधा दर्जनभन्दा बढी बस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्। स्थानीय आमा समूह, युवा क्लब, कृषक समूह र जेष्ठ नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उनीहरूको सुझाव, गुनासा र अपेक्षा संकलन गरिएको थियो। घरदैलो अभियान दार्माबाट अघि बढ्दै छिमेकी कुमाख गाउँपालिका मा प्रवेश गरेको पार्टीले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश कुमार मल्लले निर्वाचन जित्नु मात्र लक्ष्य नभई जनताको विश्वास जित्नु मुख्य उद्देश्य रहेको बताउनुभयो। उहाँले स्थानीय स्तरमा देखिएका सडक, खानेपानी, सिंचाइ, स्वास्थ्य र शिक्षाका समस्या समाधानलाई प्राथमिकतामा राखिने स्पष्ट पार्नुभयो। “जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर योजनाबद्ध विकास कार्यक्रम अघि बढाइनेछ,” उहाँले भन्नुभयो, “कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र साना तथा घरेलु उद्यम विस्तारमार्फत युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने हाम्रो प्रतिबद्धता हो।”
मल्लले विशेष गरी कृषिमा उत्पादन लागत घटाउने, बजार सुनिश्चित गर्ने र पर्यटन सम्भावना बोकेका क्षेत्रहरूको पहिचान गरी पूर्वाधार विकास गरिने योजना प्रस्तुत गर्नुभयो। उहाँले मतदातालाई परिवर्तनका लागि सक्रिय सहभागिता जनाउन आग्रह गर्दै चुनावी अभियानलाई जनआन्दोलनकै रूपमा अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो।
त्यसैगरी समानुपातिक उम्मेदवार शारदा परियारले महिला, दलित, जनजाति तथा पिछडिएका समुदायको अधिकार सुनिश्चित गर्नु पार्टीको प्राथमिक एजेन्डा भएको बताउनुभयो। उहाँले समावेशी, समानतामूलक र सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि नीति तथा कार्यक्रममार्फत ठोस पहल गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो। “राजनीतिक पहुँच र अवसरमा समान सहभागिता बिना समृद्धि सम्भव छैन,” उहाँको भनाइ थियो।
घरदैलोका क्रममा स्थानीय मतदाताहरूले विकास, रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको सुनिश्चितता आफ्नो मुख्य चासोको विषय भएको बताएका थिए। धेरै मतदाताले तारा चुनाव चिन्हमा मतदान गरी नेकपाका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता जनाएका आयोजकले बताएका छन्।
गाउँस्तरमै पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने रणनीतिले निर्वाचन अभियानलाई थप प्रभावकारी बनाएको विश्लेषकहरूको भनाइ छ। आगामी दिनमा पनि विभिन्न बस्तीहरूमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिइने पार्टीले जनाएको छ।
