
निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा नेपाली कम्युनिष्ट पार्टी सल्यानका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश कुमार मल्ल भेटघाट सँगै जनताका समस्या र गुनासो सुन्नमा सक्रिय रहनुभएको छ । भेटघाटकै क्रममा शारदा नगरपालिका आइतबार वडा नम्बर ८, ९ र १० मा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ। भेटघाटका क्रममा स्थानीय बासिन्दाले विकाससँग सम्बन्धित आफ्ना विभिन्न मागहरू लिखित रूपमा मल्लसमक्ष पेश गरेका छन्। लिखित मागपत्रमा विशेषगरी वर्षौंदेखि अधुरा रहेका सडकहरूको स्तरोन्नति, पहिरोले अवरुद्ध सडकको तत्काल मर्मत, गाउँ–बस्ती जोड्ने वैकल्पिक सडक विस्तार, खानेपानी योजनाको दिगो व्यवस्थापन, खेतखोलामा कुलो तथा सिँचाइ नहर निर्माण, बगर कटान रोक्न तटबन्ध तथा ग्याबिन जाली जडान, तारबारीका लागि बजेट विनियोजन र कृषकलाई प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने जस्ता माग राखेका छन । बिशेष गरि शारदा नगरपालिका वडा नम्बर ९ बागचौरका स्थानियले लिखित माग राख्दै बिकास निर्माण अन्तर्गत सडक मर्मत, खानेपानी , सिचाइ योजनामा कुलो निर्माण, खोलामा तटबन्ध निर्माण, शिक्षा, स्वास्थ्य र कृषि जस्ता विषय उल्लेख गरेका छन । केही बस्तीमा खानेपानीको स्रोत पर्याप्त नहुँदा दैनिक जीवनयापनमा समस्या परेको र वैकल्पिक व्यवस्थाको माग पनि गरिएको छ। लिखित माग बुझ्दै उम्मेदवार मल्लले जनताका आधारभूत आवश्यकता सम्बोधन गर्नु नै आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभयो। उहाँले निर्वाचन जित्नु वा हार्नु भन्दा पनि जनताको विश्वास जित्नु महत्वपूर्ण भएको उल्लेख गर्दै आफू जस्तोसुकै अवस्थामा पनि जनताको दुःख–सुखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। मल्लले दीर्घकालीन योजना र आवश्यकता आधारित बजेट व्यवस्थापनमार्फत सडक, सिँचाइ, खानेपानी र कृषिसम्बन्धी योजनालाई प्राथमिकतामा राख्ने बताउँदै स्थानीय तह, प्रदेश र संघीय समन्वयबाट काम अघि बढाउने धारणा राख्नुभयो। “विकास भाषणले होइन, कामले देखिनुपर्ने उहाँले बताउनुभयो । भेटघाट कार्यक्रममा पार्टीका नेता प्रकाश ज्वाला, टेकबहादुर बस्नेत, भीमप्रकाश शर्मा लगायतको उपस्थिति रहेको थियो । निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार मल्लले मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्दै अभियानलाई तीव्रता दिनुभएको छ।
