जनताको गुनासा सुन्दै युवा उम्मेदवार मल्ल

  • मेरो जिल्ला
  • / राजनीति /
  • २०८२ फागुन ९, शनिबार (३ हप्ता अघि)
  • ४७ पटक पढिएको

जनताको गुनासा सुन्दै युवा उम्मेदवार मल्ल

निर्वाचन नजिकिँदै जाँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्लले जनभेटघाट कार्यक्रमलाई तीव्रता दिनुभएको छ। चुनावी माहोल तातिँदै गर्दा उहाँ गाउँ–बस्तीमै पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्न सक्रिय देखिनुभएको छ। शुक्रबार उहाँले मध्यवर्ती क्षेत्रका नागरिकसँग भेटघाट गर्दै कालिमाटी गाउँपालिका–७ र ६ का विभिन्न बस्तीमा जनभेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको हो।

अभियानका क्रममा उम्मेदवार मल्लले स्थानीय बासिन्दासँग आमनेसामने संवाद गर्दै आफ्ना योजना, प्राथमिकता र प्रतिबद्धता सार्वजनिक गर्नुभयो। उहाँले जनताका समस्या, गुनासा र सुझाव ध्यानपूर्वक सुन्नुभएको थियो। स्थानीयस्तरका वास्तविक मुद्दा बुझेर समाधानको मार्ग खोज्ने उद्देश्यले आफू घरदैलोमा पुगेको उहाँको भनाइ थियो।

मतदातासँगको भेटघाटका क्रममा स्थानीयवासीले पछिल्लो समय बढ्दो वन्यजन्तु, विशेषगरी पाटेबाघको आक्रमणका कारण मानविय क्षति बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका थिए। उनीहरूले बाघ आतंकका कारण दैनिक आवत–जावत, पशुपालन र खेतीपातीसमेत जोखिमपूर्ण बनेको उल्लेख गरे। स्थानीयले यस पटक युवा उम्मेदवार पाएकोमा आशा व्यक्त गर्दै बाघ नियन्त्रणका लागि प्रभावकारी पहल गर्न उम्मेदवार मल्लसँग आग्रह गरेका छन्। साथै राष्ट्रिय निकुञ्जको खारेजी वा व्यवस्थापनको पुनरावलोकन गरी स्थानीय जनताको ज्यान–धन सुरक्षित हुने वातावरण बनाउनुपर्ने मागसमेत उठाएका छन्।

स्थानीयको गुनासा सुन्दै उम्मेदवार मल्लले आफू निर्वाचित भए पनि नभए पनि वन्यजन्तु नियन्त्रण तथा मानव सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गरी पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। वन्यजन्तुको आक्रमणबाट सर्वसाधारणले निरन्तर दुःख पाइरहेकाले यस विषयलाई प्राथमिकताका साथ उठाउने उहाँको भनाइ थियो।

युवा नेता मल्लले आफ्नो राजनीतिक यात्राको मूल उद्देश्य जनताको जनजीविका सुधार र सुरक्षित जीवन सुनिश्चित गर्नु रहेको बताउनुभयो। उहाँले युवाको ऊर्जा, इमान्दारिता र परिणाममुखी कार्यशैलीका साथ विकास निर्माण, रोजगारी सिर्जना र स्थानीय समस्याको दिगो समाधानका लागि आफू दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। “म पदका लागि होइन, जिम्मेवारीका लागि मैदानमा आएको हुँ,” उहाँले भन्नुभयो, “जनताको भरोसा जितेर काम गर्ने मेरो पहिलो प्राथमिकता हो।”

समय र जनताको मागका आधारमा आफू उम्मेदवार बनेको उल्लेख गर्दै मल्लले आफू जनताको उम्मेदवार भएकाले सदैव जनताकै पक्षमा उभिने बताउनुभयो। जनतासँगको निरन्तर संवादमार्फत साझा समाधान खोज्ने उहाँको प्रतिबद्धता थियो।

भेटघाट कार्यक्रम अन्तर्गत उम्मेदवार मल्लले शनिबार कालिमाटी गाउँपालिका–४ र ५ का नागरिकसँग पनि जनभेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

२ हप्ता अघि

दाई परदेशिएको दिन

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली