
सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ सल्लीबजार नजिकै भेरी नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शुक्रबार दिउँसो करिब १२ बजे सल्लीबजार–सुर्खेत सडकखण्डअन्तर्गत भेरी नदीको पक्की पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी हुन । जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका–६ वरुवा घर भएकी २१ वर्षीया पुष्पा सिंहले नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी प्रमुख डिएसपी डा. हेम बहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार पुष्पा सिंह र उनका श्रीमान ६ गते वनगाड कुपिण्डे नगरपालिका ६ सुनौली माइती आएको र श्रीमान श्रीमती घर फर्किने क्रममा उनले एकासी हाम फालेकी हुन । श्रीमान श्रीमती पुलमा हिडदै गर्दा श्रीमानलाई झोला बोकाएर अगाडी पठाएको र पुष्पाले एकासी हाम फालेको उनका श्रीमानले इलाका प्रहरी कार्यालय देवस्थलमा टेलिफोनमार्फत जानकारी गराएका थिए । डिएसपी केसीका अनुसार बेपत्ता सिंहको खोजी कार्य तत्कालै सुरु गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी तथा आफन्तको सहभागितामा खोजतलास जारी राखिएको भए पनि उनको अवस्था खुल्न सकेको छैन । यसैबीच, खोजी गर्ने क्रममा बनगाड कुपिण्डे नगरपालिका–१ बस्ने ४१ वर्षीय जितेन्द्र शाह नदीमा डुबेका थिए । उनलाई स्थानीयवासी र प्रहरीको सहयोगमा तत्काल उद्धार गरी बनगाड कुपिण्डे नगर अस्पतालमा समान्य उपचार पछि थप उपचारका लागि मेहलकुना सुर्खेतमा लगिएको थियो । उनको अवस्था खतरामुक्त भएपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । वेपत्ता पुष्पाको खोजी कार्य भैरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
