पश्चिमको चाँरजहारीमा रहेको शीतल क्याम्पसमा क्याम्पस सभा सदस्य आवेदन प्रक्रिया तत्काल सुरु गर्न माग गरिएको छ। क्याम्पसको सञ्चालक तथा व्यवस्थापन समितिले विधानअनुसारको पुनर्गठन लामो समयदेखि नगरेको भन्दै यसको असर प्रशासनिक कामकाजदेखि लिएर विद्यार्थी समुदायसम्ममा परेको भन्दै तत्काल खुलाउन माग गरिएको हो ।
शीतल क्याम्पसका पूर्व विद्यार्थी शीतल चौजहारी बि ६७ ले क्याम्पस प्रमुखलाई पत्र पठाउँदै आवेदन प्रक्रिया दुई दिनभित्र खुलाउन चेतावनी दिएका छन्। पत्रमा भनिएको छ, “विधानअनुसारको प्रक्रिया पुनः सुरु गर्न ढिलाइ हुँदा विद्यार्थी र समुदायबीच अनिश्चितता र असमञ्जसता बढेको छ। त्यसैले क्याम्पसलाई पारदर्शी, सुशासित र उत्तरदायी बनाउन तत्काल कदम चालिनुपर्छ।”
पत्रमा समयमै माग सम्बोधन नभए चरणबद्ध र शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत दिइएको छ। चौजरीले हालै क्याम्पस भित्र देखिएका समस्या र असन्तुष्टि समाधान गर्न नेतृत्व जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याएका छन्। “यदि मागप्रति वेवास्ता गरियो भने आन्दोलनबाट हुने नोक्सानीको जिम्मेवारी प्रशासनले लिनुपर्नेछ,” पत्रमा उल्लेख छ।
शीतल क्याम्पस रुकुम पश्चिम चाँरजहारीकै पुराना क्याम्पसहरूमध्ये एक हो। यस संस्थाले स्थानीय स्तरमा शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले स्थापना भए पनि पछिल्लो समय विभिन्न कारणले विवाद र अन्योल बढेको बताइन्छ। व्यवस्थापन समितिको बैठक नियमित नभएको, सदस्यहरूको कार्यकाल समाप्त भएको र नयाँ सदस्य चयन प्रक्रिया रोकिएको जस्ता समस्या क्याम्पसमा देखिएका छन्। चाँरजहारीले सम्बद्ध पक्षसँग विद्यार्थी र शिक्षकको भविष्यलाई ध्यानमा राखी चाँडै निष्कर्षमा पुग्ने अपेक्षा समेत व्यक्त गरेका छन्।