सल्यान बाट सुर्खेत लिएको तरकारी खान अयोग्य रहेको भन्दै विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ सुर्खेतले ८ सय ७० किलो काउली नष्ट गरेको छ। सल्यानबाट व्यापारीले खरिद गरि बिक्रीका लागि वीरेन्द्रनगर सुर्खेत लिएको काउलीमा अत्याधिक विषादी रहेको पाइएपछि सोमबार नष्ट गरिएको हो। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका नायव प्राबिधिक धनसिङ धामीका अनुसार जिल्लाको कपुरकोट गाउँपालिका ६ छायानाथ लिउरेखोलाका किसानले उत्पादन गरेको तरकारीमा खान अयोग्य भएको पाइएको हो । तरकारीमा ९९.३४ प्रतिशत विषादी रहेको पाइएपछि नस्ट गरिएको उहाँले वताउनु भयो । किसान बाट व्यापारीले खरिद गरि अर्का व्यापारीलाई पठाएका थिए । उक्त तरकारी बिक्रीका लागि मण्डीमा राखिएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विभागको केन्द्रीय कृषि प्रयोगशाला अन्तरगत सुर्खेतको वीरेन्द्रन्गरमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले काउलीको परीक्षण गरेको थियो। प्राविधिक सहायक धामीले नष्ट गरिएको ८७० किलो काउलीमा ९९.३४ प्रतिशत अर्गानोफस्फेट समूहको विषादीको मात्रा देखिएको जानकारी दिनुभयो। उहाका अनुसार सामान्यतया कुनै पनि तरकारीमा र कार्वामेट र अर्गानोफस्फेट समूहको विषादी मात्रा ३५ प्रतिशत भन्दा कम भएको खान योग्य, ३५ प्रतिशतदेखि ४५ प्रतिशत भएमा केही दिन क्वारेन्टाइमा राख्ने र पर्खिने र ४५ प्रतिशत भन्दा बढी देखियो भने त्यसलाई बिसर्जन गर्नुपर्ने हुन्छ।
वीरेन्द्रनगर नगरपालिका उपप्रमुख निलकण्ठ खनाल, वीरेन्द्रनगर नगरपालिका कृषि शाखा प्रमुख हेमराज केसी, वीरेन्द्रनगर नगरपालिका–६ नम्बर वडाध्यक्ष जनक रावलको उपस्थितिमा काउली नष्ट गरिएको हो। यस्तै, सोमबार नै फसी, लौका, केराउ, बन्दा, पालुङ्गो, धनिया, केरा तितेकरेला लगायतका तरकारी तथा फलफूलको पनि परीक्षण गरिएकोमा उपभोग गर्न योग्य नतिजा निस्किएको थियो। यता कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले बिषादी प्रयोगशाला संचालनमा नआउँदा समस्या भएको बताउनु भयो । उत्पादित तरकारी परिक्षण गरेर खाना योग्य छ कि छैन भनेर परिक्षण गरेर पठाउन हुन्थ्यो तर प्रयोगशाला सञ्चालनमा नहुदा अन्यौलमा परेको बताउनु भयो । उहाँले भन्नुभयो, ” हामिले किसानलाई सचेत गराएकै छौ, तर पनि किसानले विषादी प्रयोग कम गर्न छोडेको देखिएन, प्रदेश सरकारले प्रयोगशाला संचालनमा ल्याइदेको भए कति मात्रामा विषादी प्रयोग भएको छ, त्यो परीक्षण गरेर पठाउन सहज हुन्थ्यो । विषादी प्रयोगशाला सञ्चालनमा नआउनु नै हाम्रो लागि ठूलो समस्या बनेको कुरा हो।