सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१२, निगालचुलाका किसानले लगाएको आलुमा पुतली कीराको प्रकोप देखापरेको छ । ६८ घरपरिवारले करिब साढे १७ हेक्टर क्षेत्रफलमा लगाइएको आलु खेतीमा पुतली किराको प्रकोप देखा परेका हो । वर्षे आलुमा पुतली कीरा (-Tuber Moth_ ) टुवर मोथको प्रकोप देखिएपछि यहाँका किसान समस्यामा परेको बनगाड कुपिण्डे नगरपालिकाका कृषि विकास शाखा प्रमुख नारायण बेलवासेले जानकारी दिनुभयो । उहाँका अनुसार विशेषगरी भण्डारणका क्रममा देखिने पुतली कीरा अहिले आलु बारीमै देखिन थालेको हो । करिब ३ सय ४० रोपनी भन्दा बढिमा किसानले लगाएको आलुमा रोग किरा देखा परेको थाहाँ पाएपछि कृषि शाखा बाट एक जना प्राबिधिक खटाइएको थियो । क्षतिगस्त आलुको बीउमा भएको लार्भाअवस्था बयस्कमा परिणत हुन गइ सो वयस्कले आलुबालीको पातमा फुल पारी सोबाट निस्किएको लार्भाले हाल आक्रमक रुप लिएको पाइएको हो ।
समस्याको रुपमा रोग किरा देखापरेपछि कर्णाली प्रदेशको एकीकृत कृषि प्रयोगशाला बाट बिज्ञ सहितको टोलीले स्थालगत अनुगमन गरि उपचार सुरु गरेको छ । एकीकृत कृषि प्रयोगशालाका प्रमुख बरिष्ठ कृषि अर्थ विज्ञ चित्र बहादुर रोकायाको नेतृत्वको टोलीले सो स्थलमा पुगेर रोग किराको उपचार सुरु गरेको हो ।
यस प्रकोपको मुख्य कारण किसानले प्रयोग गरेको क्षतिग्रस्त बीउ भएको पाइएको छ । क्षतिग्रस्त बीउमा रहेको कीराको लार्भा अवस्था वयस्क पुतलीमा परिणत भई त्यसले खडाबालीमा आक्रमण गरेको पाइएको हो । वयस्क कीराले बालीको पातमा अण्डा फुलाउँछ, र त्यसबाट निस्केको लार्भाले आलुको बोटमा ठुलो क्षति पुर्याएको छ । यसरी खेतमै पुतली कीराको प्रकोप देखिनु अत्यन्त चिन्ताको विषय भएको वडा अध्यक्ष लाल बहादुर घर्ती मगरले बताउनुभयो । उहाँका अनुसार, “यहाँका कृषकहरू वर्षे आलुलाई प्रमुख नगदे बालीका रूपमा लिन्छन् । यतिबेला उत्पादनको मुख्य चरणमा यस्तो प्रकोप आउँदा कृषकहरूको मेहनत र लगानी जोखिममा परेको छ । कृषि शाखा प्रमुख नारायण बेलवासेका अनुसार , “समस्या भैसकेको र यसलाई सुधार गर्न तर्फ लाग्नुपर्ने बताउनु भयो । यसको समाधानका लागि हामी दिर्घकालीन रणनीतिमा काम गर्दैछौं उहाँले भन्नु भयो । तत्कालको लागि बिषादी वितरण र प्रविधिको प्रयोगमार्फत नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।
तत्काल समस्या समाधानका लागि एकीकृत कृषि प्रयोगशाला सुर्खेतले निम तेल, पि.टि.एम ल्युर, र विषादी छर्नका लागि स्प्रेयर ट्यांकी समेत कृषकहरुलाई निःशुल्क प्रदान गरेको छ । प्राविधिक निरीक्षणपछि कीराको प्रकोप रोकथामका लागि आवश्यक उपायहरू अपनाउन सुझाव दिइएको छ । कृषकहरूलाई सचेत गराउँदै कृषि प्राविधिकहरूले रोग फैलन नदिन खेतमै क्षतिग्रस्त बोटहरू हटाउने, पुराना बीउ प्रयोग नगर्ने र उचित जैविक नियन्त्रण उपाय अपनाउने सुझाव दिएका हुन । निगांलचुलाका अधिकांश कृषकहरूको जीवनयापन कृषिमा आधारित रहेको हुँदा यस्तो समस्या दीर्घकालीन रूपमा दोहोरिन नदिन उचित बीउ छनोट, भण्डारण विधि सुधार र वैज्ञानिक कृषि पद्धतिमा ध्यान दिनुपर्ने आवश्यकता रहेको कृषि विज्ञको भनाइ छ ।
कर्णाली प्रदेशको एकीकृत कृषि प्रयोगशालाका प्रमुख बरिष्ठ कृषि अर्थ विज्ञ चित्र बहादुर रोकायाले बिशषगरि जलवायु परिवर्तनको पत्यक्ष असरले यो समस्या देखा परेको वताउनु भयो । दुई तिन बर्ष पहिले यो क्षेत्रमा यस्तो समस्या नदेखिएको र अहिले जलवायु परिवर्तन नै यसको कारक बनेको वताउनु भयो । उहाँले पुतली किराको प्रकोप सँगै फेद काटने किराको पनि समस्या देखिएको वताउनु भयो । यसलाई सुधार गर्न उपरचार बिधि सुरु गरिसकेको बरिष्ठ कृषि अर्थ विज्ञ रोकायाले वताउनु भयो । आलु रोप्ने समयमा पानी नपरेको र अहिले रोग किराको समस्या देखिदा उत्पादन घटने सम्भापना देखिएको निगांलचुलाका किसान जित बहादुर ओलीले बताउनु भयो । ३ सय ४० रोपनीमा लगाएको आलु खेतीमा रोग किरा देखिएपछि किसानहरु चिन्तित भएको बताउनु भयो ।
उहाँ सरिता मेरो जिल्ला डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |