सल्यानमा आइतबार दिउँसो अविरल वर्षा सँगै आएको बाढीले शारदा नदीमा निर्माणाधीन पुलमा क्षति गरेको छ । शारदा खोलामा आएको बाढीले पाथीहाल्न–बागचौर जोडने शारदा नदिमा निर्माणाधीन पुलमा ठूलो क्षति पुर्याएको हो। बाढीका कारण पुल निर्माणमा प्रयोग गरिएका सामग्री र उपकरणहरू बगाएर नोक्सानी भएको निर्माण कम्पनीले जनाएको छ।
प्रकृति/निशान जेभी कम्पनीका डिल्ली प्रकाश केसीका अनुसार बाढीले सिमेन्ट, मिक्सर, पम्पसेट, गिटी, बालुवा, २३ टन बराबरको सरिया, होमपाइप, स्काभेटरको बकेटलगायत सामग्री बगाएको छ। एउटा डोजर र ढलानका लागि प्रयोग गरिएको मिक्सरमा पनि क्षति गरेको बताउनु भयो । निर्माण व्यवसायी केसीका अनुसार पुलमा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको दाबी गरिएको छ ।
निर्माण गर्नकाे लागि तयार गरिएकाे सबै सामाग्री बाढीले बगायो, जसले गर्दा धेरै समस्या बनायो, उहाँले भन्नुभयो,” अब उक्त कार्य तयार गर्न र व्यवस्थापन गर्न १ महिना लाग्छ, आर्थिक व्यवस्थापनमा समस्या हुने भयो ।
यस्तै बाढीले बागचौर लिफ्ट खानेपानीको ट्याङ्की र पाइपसमेत बगाएर आयोजनालाई पूर्ण रूपमा अवरुद्ध बनाएको छ। आयोजनाको पुनः सञ्चालनमा समय लाग्ने देखिएको छ।
यस्तै पाथीहाल्नस्थित चार खेतमा लगाइएको गहुँ र तरकारी समेत नष्ट गरेको छ।
निर्माणस्थलभन्दा माथिल्लो भागमा माटो थुपारिएको र खोलामा राखिएको होमपाइपमार्फत पानीको बहाव नियन्त्रण गर्न खोजिएको थियो। तर पानी बग्ने ठाउँ पर्याप्त नहुँदा खोलो थुनिए पछि एक्कासी बग्दा ठूलो क्षति भएको स्थानीयले बताएका छन ।